Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजना पक्राउ


0
Shares

नुवाकोट, जेठ २२ । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

‘इमोमार्फत विजयकुमार भन्ने व्यक्तिले फोन र सन्देशमार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरेमाथि गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिले पनि ठगी गरेको तथ्य भेट्टिने क्रम शुरु भएको छ,’ प्रहरी प्रमुख कुँवरले भने, ‘सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।’

उनका अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितबाट उजुरी संकलन शुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत चिठ्ठा परेको भन्दै इमोमार्फत यसअघि यहाँको तार्केश्वर गाउँपालिका–१, दाङसिंका दुई युवासँग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो । उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्ति नै हुनसक्ने प्रहरीको दाबी छ । (रासस)