
स्थानीय आवश्यकताबारे जनप्रतिनिधिले बुझ्दै–नबुझेको गुनासो उनीहरुको छ ।
एक वर्षअघिको स्थानीय तहको निर्वाचनकाक्रममा निकै हौसिएका ओखलढुंगाको सुनकोसी गाउँपालिकाका नागरिक अहिले निराश भएका छन् ।
जननिर्वाचित प्रतिनिधिहरुले गाउँको विकासमा कुनै पहल नै नगरेको भन्दै उनीहरु निराश भएका हुन् ।
गाउँको आवश्यकताबारे जनप्रतिनिधिले केही थाहा नै नपाएकोजस्तो गर्न थालेपछि निराशमात्र होइन, उनीहरु आक्रोशितसमेत बन्दै गएका छन् ।
गाउँमा बाटोघाटो र स्वास्थ्यलगायतका समस्या समाधान गर्न जनप्रतिनिधिहरु उदासीन भएको उनीहरुको गुनासो छ ।
सुनकोसी गाउँपालिका विकासमा निकै पछाडि परेको छ । सडक नहुँदा वर्षाका बेला विद्यार्थीहरु जोखिमपूर्णरुपमा विद्यालय जान बाध्य छन् । कतिपय विद्यार्थी त दुर्घटनाको शिकारसमेत हुने गरेका छन् ।
गाउँमा सडक निर्माणको पहल नभएको भने होइन । तर, स्थानीय राजनीतिक दलहरुको विवादका कारण त्यो पूरा हुन सकेको छैन ।
सडक नभएकै कारण घन्टौंसम्म जोखिमपूर्णरुपमा पैदल हिँडेरै स्थानीय गन्तव्यमा पुग्न बाध्य छन् ।
सरोकारवाला निकायलाई पटक–पटक आफूहरुका समस्या बुझिदिन आग्रह गरे पनि चासो नदेखाएको स्थानीयको गुनासो छ ।
दुर्गम जिल्ला ओखलढुंगामा अहिलेसम्म कुनैपनि ठूला आयोजना सन्चालनमा छैनन् । राष्ट्रिय प्राथमिकताका आयोजना नहुँदा जिल्ला नै धेरै पछाडि पर्दै गएको छ ।
मझौला किसिमका कतिपय आयोजना पनि राजनीतिक पूर्वाग्रहका कारण स्थगित भएपछि विकासमा जिल्ला नै पछाडि परेको बताउँछन्, नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ।
सरकारले मुलुकको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छ । तर, ओखलढुंगाबासी भने सरकारको आर्थिक समृद्धिको नारामा आफूहरु नसमेटिएको गुनासो गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्