२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुग्लिन–नौबिसे सडक स्तरोन्नति गरिने, त्रिशूली नदीको पारी पनि सडक बनाइने


0
Shares

राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने ‘लाइफलाइन’कारुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो ।

मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारी पनि सडक बनाइने भएको छ ।

सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठकाअनुसार अहिले सडक रहेको क्षेत्रको पारीपट्टि २८ किलोमिटर सडक बनाइनेछ । मुग्लिनदेखि नौबिसेसम्मको दूरी ९६ किलोमिटर छ ।

अग्ला र कडा चट्टान भएको क्षेत्रमा पारीपट्टिबाट सडक निर्माण गर्न लागिएको हो । तीन ठाउँबाट नदी पार गरी सडकमा जोडिनेछ ।

श्रेष्ठकाअनुसार सो सडकको विस्तृत् अध्ययन भइ अर्थ मन्त्रालयमार्फत् बजेटका लागि विश्व बैंकमा पठाइएको छ । अध्ययन पनि विश्व बैंकका प्राविधिक समूहले गरेको हो ।

उक्त सडक निर्माणका लागि विश्व बैंक सकारात्मक रहेकाले ६/७ महिनाभित्रमा सडक निर्माणका लागि बजेटको टुंगो लाग्ने अनुमान छ ।

उक्त सडक निर्माणका लागि झन्डै रु २३ अर्ब खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए ।

काम सुरु भएको तीन वर्ष ६ महिनाभित्र सक्नेगरी काम गर्ने तयारी गरिएको छ ।

वारीपट्टिको सडकले चितवन र धादिङ हुँदै काठमाडौं जोड्द छ भने पारीपट्टि गोरखा, धादिङ हुँदै काठमाडौं जोडिन्छ ।

वैदेशिक महाशाखा प्रमुख श्रेष्ठकाअनुसार सिस्नेखोलाबाट टुटीपाखासम्मको भागमा २.७ किलोमिटर लामो सुरुङमार्ग बनाइनेछ ।

अहिले गरिएको अध्ययनअनुसार सडक सम्पन्न हुँदा ८ किलोमिटर छोटो हुने र २० मिनेट समय कम लाग्ने उनले बताए । हाल सो सडकमा एउटा गाडी बिग्रँदा सडक अवरुद्ध हुने गरेको छ ।

सडकको स्तरोन्नति भएसँगै एउटा गाडी बाटोमा बिग्रँदासमेत दोहोरो आवत–जावत गर्न सक्नेछन् । हाल सो सडक सात मिटर फराकिलो छ । गाडी बिग्रँदा पनि दोहोरो सवारी गुड्न ९ मिटर फराकिलो सडक चाहिन्छ ।

नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति गरी ९ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । यो सडक स्तरोन्नति भएसँगै सवारी चाप मुग्लिन–नौबिसे सडकमा बढी पर्नेछ ।

सो सडक पनि स्तरोन्नति गर्दा राजधानी काठमाडौं जाने–आउने सवारीलाई सहज हुनेछ । रासस