Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


निर्मला हत्या प्रकरणमा बम परिवारको गुनासो– प्रहरीकै कारण पीडित भयौं (भिडियो)


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ३ महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । उता, निर्मलाकी साथी रोशनी बमको परिवारले पनि प्रहरीकै कारण आफूहरु पीडित हुनुपरेको गुनासो गरेको छ ।

बम परिवारले घटनाको तत्काल छानबिन गरेर यथार्थ सार्वजनिक गर्न मागसमेत गरेको छ ।

घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले अनावश्यक दुःख दिने गरेका कारण आफूहरु पीडित बन्नु परेको गुनासो निर्मलाकी साथी रोशनी बमको परिवारले गरेको छ । निर्मला हराएकै दिन उनकी आमाले प्रहरीलाई बमको घरभित्र पसेर हेर्न आग्रह गरे पनि प्रहरीले अटेरी गर्दा त्यसको सास्ती अहिलेसम्म भोग्नु परेको गुनासो बम परिवारको छ ।

प्रहरीको त्यही अटेरीका कारण आफूहरु पीडित हुनु परेको गुनासो रोशनीका बुवा दिपेन्द्र बमले गरे ।

निर्मलाको हत्यापछि केही स्थानीयले बम दिदीबहिनीको संलग्नताको शंकासमेत गरेका थिए । तर प्रहरीले अटेरी गरे पनि पीडित परिवार आफैंले घरभित्र हेरिदिएको भए छोरीसँगै परिवारले आरोप खेप्नु नपर्ने रोशनीकी आमा इन्द्रा बमको भनाइ छ ।

निर्मलाको हत्याको घटनामा लगाइएको आरोपका कारण बम दिदीबहिनीसँगै अहिले परिवारका सबै सदस्य तनावमा छन् । उनीहरुमाथि लगाइएको आरोपकै कारण मंसिरमा हुने भनिएको बबिताको बिहेसमेत रद्द भएको छ । अपराधीलाई कानुनी दायरामा ल्याएर निर्मलासँगै आफूहरुले पनि न्याय पाउनुपर्ने बबिता बमको माग छ ।

घटनाकै कारण रोशनीको यो वर्षको पढाई पनि स्थगित भएको छ । सरकारले घटनाको चाँडै टुङ्गो लगाएर निर्दोषलाई सफाई दिनुपर्ने रोशनीको भनाइ छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ३ महिना बितिसकेको छ । तर पनि उचित प्रमाण अभाव र प्रहरीको लापरवाहीका कारण अनुसन्धान प्रकृया जहाँको तहीँ अल्झिएको छ ।

बम परिवारका चारै सदस्य के भन्छन् ?

भिडियो हेर्नुहोस्