
काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी ओलीले नागरिकता विधेयकबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको धारणा सुनेका छन् ।
विहीबार राति भएको छलफलमा कांग्रेसले नागरिकता सम्बन्धी विधेयकलाई नागरिकता ऐन(२०६३ को प्रावधानअनुसार अगाडि बढ्न प्रधानमन्त्रीसहित नेकपा नेताहरुलाई आग्रह गरेको छ ।
छलफलमा प्रधानमन्त्री ओलीका साथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, भीम रावल सहभागी थिए भने कांग्रेसका तर्फबाट उपसभापति बिमलेन्द्र निधि, नेताहरू कृष्ण सिटौला, मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, रमेश लेखक र दिलेन्द्र बडु थिए ।
बैठकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ पनि सहभागी थिइन् । कांग्रेस नेताहरूले अहिलेको व्यवस्थाअनुसारै नागरिकता विधेयक अगाडि बढाउन आग्रह गरेका थिए ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले नागरिकता विधेयकबारे प्रधानमन्त्रीले कांग्रेसको धारणा सुन्न बोलाएको र बैठकमा बिमलेन्द्र निधिले अहिलेसम्मको जुन अभ्यास छ, त्यही अनुसार अगाडि बढ्न आग्रह गरेको जानकारी दिए ।
नेपाली कांग्रेस, नागरिकता ऐन २०६३ कै प्रावधानअनुसार विधेयक अगाडि बढाउने पक्षमा रहेको नेता रमेश लेखले बताए ।
प्रधानमन्त्री ओलीले भने पार्टीभित्र छलफल गरेर नागरिकता विधेयक अगाडि बढाइने बताएका छन् । २०७५ भदौ ५ देखि नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्