३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सुरक्षा संयन्त्रको पुनःसंरचना गर्नुपर्छ : सांसद सिलवाल


0
Shares

काठमाडौं, असार ११ । प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथि छलफल भएको छ । 

सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, गृह र परराष्ट्र मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले धारणा राखेका छन् ।

विनियोजित बजेटमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले आफूहरुले माग गरेअनुसारका योजना तथा कार्यक्रम समावेश नभएको भन्दै आपत्ति जनाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले सुरक्षा संयन्त्रको पुनःसंरचना गर्नुपर्नेमा जोड दिए ।

सुरक्षा नै विकासको मूल मेरुदन्ड भएको भन्दै सांसद सिलवालले सुरक्षा संयन्त्रको पुनःसंरचनासहितको बजेट विनियोजन गर्न सुझाव दिए ।

नेकपाका सांसद पुष्पाकुमारी कर्ण कायस्थले एकीकृत ट्राफिक व्यवस्थापन कार्यक्रममा बजेट नभएको भन्दै सो विषयमा सदनलाई स्पस्ट पार्न गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरीले प्रहरी प्रशासनको विकेन्द्रीकरण हुन नसक्दा प्रहरी संगठनमा अन्योलता छाएको र त्यसले शान्ति–सुरक्षाको अवस्था प्रभावित भएको जिकिर गरे ।

नेकपाका सांसद मोहन बानियाँले जलविद्युत्का आयोजनाहरुमा जनताको अनिवार्य लगानी गराउनुपर्ने धारणा राखे ।

विनियोजन विधेयकमाथिको छलफलकाक्रममा विभागीय मन्त्री उपस्थित नभएपछि प्रतिपक्षी दल कांग्रेसले विरोध गरेको थियो । जसका कारण प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।