Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘तुलाधरको योगदान कहिल्यै बिर्सन सकिन्न’


0
Shares

काठमाडौं, कात्तिक १८ । वाम बुद्धिजीवी एवं मानवअधिकारकर्मी स्व. पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् ।

उनको आइतबारै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२.४५ मा उपचाररत् रहँदाकै अवस्थामा निधन भएको हो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवअधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने–‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।’

नेत्री हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा तथा सबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया राससलाई दिए ।

उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेका थिए ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर संक्रमणबाट मृत्यु भएको हो ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।

उनी पत्रकार तथा साहित्यकार पनि थिए ।

स्व. तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ । रासस