Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव तयार पार्दै कांग्रेस (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव लेखन अघि बढाएको छ । कांग्रेसले जनतालाई दिने राहतका कार्यक्रम, निर्वाचन एजेन्डा र परराष्ट्रनीतिका बारेमा केन्द्रीत रहेर प्रतिवेदन बनाउन लागेको हो ।

नेपाली कांग्रेसको महासमिति बैठक त्यति ठूलो संरचना हो, जसले पार्टी सिद्धान्त नै परिमार्जन गरिदिन सक्छ । कांग्रेसले महासमिति बैठकबाटै आफ्नो सिद्धान्तको रुपमा रहेको संवैधानिक राजतन्त्रलाई हटाउँदै गणतन्त्रमा जाने निर्णयसमेत गरेको थियो । महासमिति बैठक राजनीतिक दस्तावेजका हिसाबले महत्वपूर्ण फोरम पनि हो ।

अहिले पनि कांग्रेसलाई नयाँ कार्यक्रमविहीन पार्टीको रुपमा चित्रित गरिँदैछ । पुरानै दर्शन र सिद्धान्तका आधारमा पार्टी सञ्चालन भइरहेको आरोप कांग्रेसले खेपेको छ । कांग्रेसले पार्टीको यो महासमितिमा प्रस्तुत् गर्ने राजनीतिक प्रस्तावले उसले भविष्यमा लिने बाटो तय हुनेछ । राजनीतिक प्रस्ताव तयार गर्न पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाइएको छ । सोही समिति अहिले राजनीतिक प्रस्ताव मस्यौदा गर्ने क्रममा छ । 

राजनीतिक प्रस्तावको फ्रेमवर्क मात्र बनाएको समितिले पार्टीले अहिलेको अवस्थामा लिने राजनीतिक दृष्टिकोण, जनताले दिनानुदिन भोगिरहेका समस्या समाधानको उपाय, अन्य राजनीतिक शक्तिसँगको सम्बन्ध, विकास र समृद्धिसँग जोडिएका जनताका चाहनालाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउँदैछ ।

राजनीतिक प्रस्ताव तयारी समितिका संयोजक निधि महाधिवेशनसम्म लाने गरी जनताका सबै विषय समेटिएको र कांग्रेसलाई सुदृढ गर्ने गरी राजनीतिक प्रस्ताव तयार गर्न लागिएको बताउँछन् ।

नेपालको भूराजनीतिक अवस्थाबारे कांग्रेसले आफूलाई कसरी उभ्याउँछ भन्ने विषय पनि चर्चामै छ । कांग्रेसले आफ्नो दस्तावेजमा भूराजनीतिक अवस्थासँग जोडेर भारत, चीन, सार्क, विमस्टेकलगायतका देश र संगठनहरुसँगको आफ्नो सम्बन्ध दस्तावेजमै उल्लेख गर्ने तयारी गरेको बताउँछन् उपसभापति निधि ।

आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकले गर्ने निर्णयले नेपाली कांग्रेसको भावी कार्यदिशा तय हुनेछ । परराष्ट्र नीतिमा समेत स्पष्ट हुन नसकेको आरोप खेपिरहेको कांग्रेसले आफ्नो लिखित दस्तावेजमै यसलाई समेटेर स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्