८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


समाचार लेखेकै कारण हत्या भएका पत्रकारका परिवार भन्छन्– न्याय पाएनौं


0
Shares

काठमाडौं, कात्तिक १६ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

सन् २००६ मा फिलिपिन्समा मारिएका ३२ जना पत्रकारको सम्झनामा राष्ट्रसंघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर २ मा संसारभर यो दिवस मनाउन थालिएको हो ।

आज राजधानीमा फ्रिडम फोरमले गरेको कार्यक्रममा समाचार लेखेकै कारण हत्या भएका पत्रकारका परिवारले अझै न्याय पाउन नसकेको यथार्थ प्रस्तुत गरियो ।

कार्यक्रममा द्वन्द्वकालमा मारिएका रोल्पाका पत्रकार धनबहादुर रोक्काकी छोरी पवित्रा रोक्का र पत्रकार देवकुमार आचार्यकी छोरी तृष्णा आचार्यले बाबुको हत्यारालाई सरकारले अझै कारवाही नगर्न नसकेको गुनासो गरेका थिए । 

सो अवसरमा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले विश्वमा ११ सय पत्रकार कार्यक्षेत्रमा मारिएको बताए । पत्रकारको सुरक्षा अझै पनि चुनौतीको विषय बनेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले दोषी को हो भन्ने जानकारी प्राप्त हुँदा हुँदै पनि सरकारले हत्यारालाई उन्मुक्ति दिइरहेको आरोप लगाए ।

कार्यक्रममा साहसिक पत्रकारिता पुरस्कार रामविकास चौधरी र खोजी पत्रकारिता पुरस्कार रमेशकुमार विष्टलाई प्रदान गरिएको थियो ।