
काठमाडौं, कात्तिक १४ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा विराटनगर टाइटान्स र चितवन राइनोजले जितको खाता खोलेका छन् ।
लगातार तीन हारपछि सन्दीप लामिछाने नेतृत्वको विराटनगरले बुधबार सोमपाल कार्मी नेतृत्वको बुटवल ब्लास्टर्सलाई १२ रनले हरायो ।
१४१ रनको चुनौती पछ्याएको बुटवलले ८ विकेटको क्षतिमा १२८ रनमात्र बनाउन सक्यो ।
भीम सार्कीले ४२ बलमा ५० रन बनाएको इनिङ्सलाई रोक्नेक्रममा सन्दीप र किशोर महतोले समान २/२ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
पाकिस्तानी खेलाडी मुहम्मद जैद आलमले ४५ बलमा ७२ तथा प्रदीपसिंह ऐरीले ४३ बलमा ४१ रन बनाएबाहेक कुनैपनि खेलाडीले दोहोरो रन जोडेनन् । ललित भण्डारीले २ विकेट लिए ।
चितवन राइनोजको पहिलो जित
बुधबारै भएको पहिलो खेलमा चितवन राइनोजले पहिलो जित हासिल गर्नेक्रममा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले हरायो ।
पारस खड्काको कप्तानीमा रहेको चितवनले दुई हारपछि पहिलो जित हासिल गरेको हो ।
१९४ रनको चुनौती पछ्याएको दीपेन्द्रसिंह ऐरी नेतृत्वको धनगढीले १६ ओभर २ बलमा अलआउट हुँदै ६७ रनमात्रै बनाउन सक्यो ।
बेलायती ब्याट्सम्यान पिटर डेभिड ट्रेगोले सर्वाधिक २७ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा सन्नी पटेलले ४ तथा भुवन कार्की र स्मिथ पटेलले २/२ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । हरिशंकर साहले ५३ तथा अनिलकुमार शाहले ३७ रनको योगदान दिए ।
यो खेलसँगै लिगमा बुटवल, शरद भेषावकर नेतृत्वको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल नेतृत्वको हुलास काठमाडौं रोयल्सको समान ४/४ अंक छ भने विराटनगर, चितवन र धनगढीको २/२ अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्