
विष्णु नेपाल (रासस)
काठमाडौं, कात्तिक १३ । शिशु जन्मेको ६ महिना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने बुधबार (भोलि) पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।
मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न ।
यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयंसेविका÷स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् ।
कात्तिक १४ र १५ गरी दुई दिन भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सन्चालन हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयुक्तराष्ट्र संघीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत् अन्तर्राष्ट्रिय दातृनिकायको उच्च प्राथमिकताप्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ ।
मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानकारुपमा सन्चालन गर्ने गर्दछ ।
यस वर्ष महान् पर्व बडादसैं परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सन्चालन गर्न लागिएको हो ।
पहिलोचोटि यसपटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका/नगरपालिका)ले गर्दैछन् ।
‘देशभरका ७५३ पालिकामार्फत् ती चारओटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो’–बालस्वास्थ्य शाखाअन्तर्गत्का पोषण शाखा प्रमुख केदार पराजुलीले भने ।
उनकाअनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि पाँच वर्षमुनिका करिब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ ।
‘भिटामिन ‘ए’ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ । रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वासप्रश्वासलगायतका संक्रमणबाट जोगाउँछ’–बालस्वास्थ्य महाशाखाका प्रमुख डा. झलक गौतम बताउँछन् ।
भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ‘ए’ अभावको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसैगरी, बालबालिकाका लागि अतिआवश्यक सूक्ष्म पोषकतत्वकारुपमा बालभिटा खुवाइँदैछ ।
सन् २००८ देखि ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरुआत गरिएको थियो ।
बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ । जुन बिहान खानामा मिसाएर खुवाउनुपर्छ ।
करिब ६ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञकाअनुसार २३ महिनाभित्र १८० प्याकेट बालभिटा खुवाउनुपर्छ । यसपटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सन्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
पाखुराको नाप किन ?
मन्त्रालयले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ ।
‘पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेंलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेंलोले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ’–पोषणशाखा प्रमुख पराजुली भन्छन् ।
कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणकाबारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।
बालस्वास्थ्य महाशाखा प्रमुख डा. गौतमकाअनुसार यसपटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहनेछन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुनेछन् ।
पहिलो दिनमा स्वयंसेविका/स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् ।
पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयंसेविकाले दोस्रो दिन घरघरमा गइ ती सेवा प्रदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्