काठमाडौं, कात्तिक ८ । केन्द्र सरकारले नै फोहर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गरिदिनुपर्ने काठमाडौं महानगरपालिकाको माग छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि संकलित फोहर लाने काममात्र स्थानीय तहको भएको जिकिर गरे ।
शाक्यले भने–‘फोहर राख्ने स्थान निर्माण गर्नका लागि आफूहरुसँग स्रोत–साधन नभएकाले केन्द्र सरकारले नै स्थान तय गरिदिनुपर्छ ।’
दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भन्दै १३ वर्षदेखि नुवाकोटको सिसडोलमा फोहर राखिँदै आएको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्छ ।
‘स्थान निर्माणका सम्बन्धमा नेपाल सरकासँग कुरा भइरहेको छ । यो समस्या छिट्टै हट्छ’–शाक्यले भने ।
सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकिएको भएपनि निर्माणको काम अघि बढ्न सकेको छैन ।
उक्त स्थान निर्माणका लागि करिब रु तीन अर्ब र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिकटन फोहर लगिने गरिएको छ ।
हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर त्यहाँ जान्छ ।
वर्षाको समय आएपछि बाटो पहिरोले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । रासस








प्रतिक्रिया दिनुहोस्