काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसले विजयादशमी, शुभदीपावली, नेपाल संवत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ ।
कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्नेगरी मिति परिवर्तन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बास्तोलाको गत असोज २७ गते राति भएको निधनका कारण कार्यक्रम सारिएको हो ।
उनको निधनको तेह्रौं दिनसम्म शोक भएकाले उनीप्रति सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको जनाइएको छ ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।
पूर्वनिर्धारित् कार्यक्रमको मिति परिवर्तन गर्दा उत्पन्न हुने असुविधाका लागि कांग्रेसले क्षमायाचना गरेको छ ।
कार्यक्रममा सबै राजनीतिक दलका नेता, मन्त्रिपरिषदका सदस्य, संघीय तथा प्रदेशका सांसद, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योेगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सन्चारगृह, पत्रकार, गैरआवासीय नेपाली संघ–संस्थाका प्रमुखलगायतलाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले वि.सं. २०३३ मा भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएपछि बडादसैंको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम आयोजना सुरु गरेका थिए ।
उनको निधनपछि पार्टी सभापति बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले पनि यो परम्परालाई निरन्तरता दिएका थिए । रासस









प्रतिक्रिया दिनुहोस्