Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा


0
Shares

काठमाडौं, असोज २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्मती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जिप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’को सवारीचालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वाग्मती एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को कसूर गरेकाले हदैसम्मको जरिवाना र कैद सजायको माग–दाबी लिइ आरोपपत्र दायर गरेको जनाएको छ ।

त्यसैगरी, तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वाग्मती ठूलोभर्‍याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, सवारीचालक अनुमतिपत्र वाग्मती एकान्तकुना कार्यालयका नायबसुब्बा लेखनाथ भुसालविरुद्ध पनि आयोगले मुद्दा दायर गरिएको छ । रासस