
काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सन्चारमाध्यमसँग आग्रह गरेका छन् ।
संवैधानिक तथा कानुन पत्रकार मञ्चले मंगलबार बडादसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने–‘विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानवअधिकारमासमेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।’
उनले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायालयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानुन व्यवसायी र सन्चारमाध्यमको सहयोगको आवश्यकता भएको बताए ।
न्यायालयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायालयले काम गरिरहेकोसमेत स्पस्ट पार्दै प्रधानन्यायाधीश मिश्रले ‘प्रेसलाई आफूले सम्मान गर्ने र न्यायालयमा पनि प्रेसलाई बाटो खुला छ’–भने ।
मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले विगतमा न्यायालयमा धेरै उतार–चढाव आउने गरेको स्मरण गराउँदै जनताले न्यायको अनुभूति गर्नेगरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए ।
चियापन समारोहमा प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलगायत अन्य पदाधिकारी, सर्वोच्च बार एसोसिएसनका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र पत्रकारको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्