१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राहीलाई मर्का


0
Shares

शर्मिला पाठक 

काठमाडौं, असोज २३ । कलंकीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए ।

त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो । उनी हरिभवन जाँदा पनि उनको काम हुने सुरसार नभएपछि उनले सोधे । उनलाई ‘नक्शाको काम बबरमहलमा हुने’ भनियो । उप्रेती त्यसतर्फ लागे ।

त्यस्तै अर्का नगरवासी कुमार कार्की बालाजुबाट नक्शा पास गर्नका लागि आए तर उनलाई पनि महानगरको सो विभाग अन्त सरेको विषयमा जानकारी थिएन । कार्कीले भने, ‘स्थानको अभाव भएपछि अन्यत्र सरे पनि कुनै सूचनामार्फत नागरिकलाई जानकारी दिनुपर्छ, अन्यथा नागरिले दुःख पाउनेछन् ।’

कार्की र उप्रेती त प्रतिनिधि पात्रमात्रै हुन् । हरेक दिन कामपामा फरक फरक सेवा लिनका लागि सयौँको सङ्ख्यामा नागरिक आउँछन् । पहिले सेवा लिँँदै आएको स्थान अन्यत्र सरेका विषयमा जानकारी नहुँदा नागरिकहरु समस्या भोग्न बाध्य भएका छन् । 

कामपामा अहिले १३ विभाग छन् । तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन् । भूकम्पअघि हरिभवनबाट आफ्नो सबै सेवा प्रदान गर्दै आएको कामपाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ । कामपाको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ । भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको कामपाका केही विभाग सुनधारामा नै रहेको जेडिए कम्प्लेक्समा छन् । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन् । 

त्यस्तै नक्शा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् । 

त्यस्तै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुनधारामा रहेको जेडिए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहेका छन् ।

ती विभाग सरेकोबारे नागरिकलाई जानकारी नहुँदा नागरिकले समस्या भोग्नाका साथै तिनको समयको बर्बादी भइरहेको छ । 

महानगरका उपप्रमुख खड्गीका अनुसार यी सबै समस्या भूकम्पको कारण भएको हो । त्यसअघि सबै सेवा एकै स्थानबाट दिई नै आए पनि नागरिकलाई परेको समस्याको समाधान खोज्न महानगर लागिरहेको बताउँछिन् ।

भूकम्पअघि सेवा दिँदै आएको हरिभवनमा पनि भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको छ । त्यसलाई भत्काएर पुनःनिर्माण गरी सोही स्थानबाट नै नागरिकलाई सेवा दिने तयारी कामपाको रहेको र भत्काउनका लागि बोलपत्र आह्वानसमेत गरिसक्दा सर्वोच्च अदालतले गत बुधबार अन्तरिम आदेश जारी गरी तत्कालका लागि भत्काउने प्रक्रिया अघि नबढाउन र अहिलेकै अवस्थामा संरक्षण गर्न आदेश दिएको छ ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ जहाँ प्राप्त हुन्छ त्यहीँ लिइएको बताउँछन् । ‘महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखको लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो,’ आचार्यले भने ।

टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महिनाअघि मात्र सुनधाराबाट अन्यत्र सरेका हुन् । (रासस)