२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता


0
Shares

काठमाडौं, असोज २२ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको छ ।

पीपीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसीसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पीपीएललाई मान्यता दिएको जानकारी दिए ।

आइसीसीको मान्यता पाएपछि अब पीपीएलको आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्नेछ ।

‘हामीले प्रतियोगिता सन्चालनका लागि आइसीसीमा पत्र पठाएका थियौं । आइसीसीले हामीलाई मान्यता दिएको छ’–आइसीसीको पत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक लामाले भने ।

पीपीएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमासमेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको लामाको भनाइ छ ।

यसअघि, प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की खेलाडीको टुंगो लागिसकेको छ ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजका टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी, विराटनगर टाइटन्स टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् ।

एक्सपर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सन्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

हुलास काठमाडौं रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् । रासस