
काठमाडौं, असोज २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाटमात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको २९औं साधारणसभालाई शनिबर राजधानीमा सम्बोधन गर्दै उनले विद्यालयमा दिइने औपचारिक शिक्षालेमात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने–‘अब कक्षाकोठाको पढाइलेमात्र पुग्दैन । विद्यार्थीलाई घरगाउँमा, खेतमा नै लगेर शिक्षा दिनुपर्दछ ।’
‘शिक्षालाई आजको विज्ञान र प्रविधिलाईसमेत उपयोग गरेर अघि बढाउनुपर्छ’–उनले भने–‘शिक्षा र प्रविधिलाई सँगसँगै अघि बढाएर लग्यो भने यसले थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले यस वर्षदेखि सुरु गरिएको निरक्षरताविरुद्धको महाअभियानले आगामी वर्षमा सबै बालबालिकालाई विद्यालयमा ल्याइने बताउँदै ‘आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर हुने छैनन्’–भने ।
विश्वविद्यालय अब विशिष्टकृत हुनैपर्ने उल्लेख गर्दै उनले विश्वविद्यालयमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकताभन्दा बढी कलेजले सम्बन्धन पाएको बताए ।
प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्था खोल्नुपर्नेमा जोड दिँदै ‘शिक्षालाई देशको आवश्यकताअनुसार अघि बढाउनुपर्दछ’–भने ।
साधारणसभाले आव २०७५/०७६ का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१/०७२ र आव २०७२/०७३ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।
यसैगरी, आव २०७३/०७४ र २०७४/०७५ को लेखापरीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ ।
साधारणसभामा प्रस्तुत् गरिएको अन्य प्रस्ताव अर्को बैठकमा छलफल गर्ने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्