भक्तपुर । सिन्धुपाल्चोक चौताराका ६० बर्षीय हर्कबहादुर तामाङको देब्रे स्तनमा ७ बर्षअघि सानो गिर्खा देखियो । तर त्यतिबेला उनले खासै वास्ता गरेनन् ।
४ महिना अघि भने एक्कासि बढ्यो र दुख्न थाल्यो । उनलाई छोरी रेनुले भक्तपुर क्यान्सर अस्पताल पुर्याएर सर्जिकल अन्कोलोजिस्टलाई भेटाइन् ।
अस्पतालमा स्किनिङ, म्यामोग्राम गराइन । चिकित्सकले स्तन क्यान्सर फैलिएको छ/छैन् प्रष्ट पारे । ‘बुबाको स्नतको पुरै भाग निकाल्नुपर्यो’, उनले भनिन् ।
हर्क बहादुर स्तन अप्रेसन गरी २२ दिनदेखि अस्पतालमा थप उपचार गराइरहेका छन् । ‘शरिरमा कुनै गिर्खा आयो भने क्यान्सरको संकेत भन्ने सुनेकी थिएँ र बुबालाई क्यान्सर अस्पतालमा ल्याएँ,’ रेनुले भनिन् ।
हर्कबहादुर मात्र होइन । ६ महिनायता ४ पुरुषको स्तन क्यान्सरको अप्रेसन गरेको भक्तपुर क्यान्सर अस्पतालका कन्सलटेन्ट अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठ बताउँछन् ।
‘विश्वमा एक प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सर भएको तथ्यांक छ तर पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको संख्या बढ्दो छ’, उनले भने, ‘गतबर्ष २ जनाको स्तन क्यान्सरको अप्रेसन गरेको थियो, ६ महिनामा ४ जना थपिए ।’ -कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्