
दुर्गा उपाध्याय
कञ्चनपुर, असोज १९ । दशैंतिहार नजिकिएसँगै सीमानाकामा चहलपहल बढ्न थालेपछि लुटपाट र ठगीका घटना रोक्न प्रहरीले भारतीय भूमिमै नेपाली गुप्तचर परिचालन गरेको छ ।
चाडवाडका बेला भारतमा रोजगारी गरी घर फर्किने नेपाली मजदूर सीमानाकामा वर्षेनि लुटिने गरेकाले भारतीय भूमिमै गुप्तचर परिचालन गरिएको हो ।
पश्चिमी सीमानाका गड्डाचौकीमा घर फर्किने नेपालीको चहलपहल बढेसँगै प्रहरीले भारतीय भन्सारसम्म गुप्तचर परिचालन गरेर नेपालीको सुरक्षामा सजकता अपनाउन थालेको छ । दशैंतिहार नजिकिएसँगै भारतमा रोजगारी गरि घर फर्किने नेपाली सीमानाकामा लुटिने गरेका घटनालाई मध्यनजर गर्दै सादा पोशाकमा नेपाली सुरक्षाकर्मीलाई परिचालन गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।
लुटपाट र ठगीका घटनालाई कम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा ‘चाडवाड विशेष सुरक्षा योजना’ नै लागू गरेका छन् । प्रहरीको विशेष सुरक्षा योजनाकै कारण सीमानाकामा आपराधिक समूहबाट नेपाली लुटिएको घटना बाहिर आएका छैनन् भने विगतका वर्षमा पाइने सास्तीमा पनि केही कमी आएको छ ।
अहिले दैनिक एक हजार नेपाली यो नाका हुँदै नेपाल भित्रिने गरेका छन् । आपराधिक गिरोहबाट हुने लुटपाटका घटनामा कमी आए पनि भारतीय भन्सारका कर्मचारी र सुरक्षाकर्मीबाट भने नेपालीहरु अझै पनि पीडित नै छन् । उनीहरुले विभिन्न बहानामा प्रतिव्यक्ति २० देखि ५० रुपैंयासम्म असुल्ने गरेको नेपाल फर्किएका यात्री बताउँछन् ।
विगतका वर्षमा भारतीय प्रहरी, कस्टम, सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फबाट सुरक्षाको नाममा हुने चेकजाँच र अवैध पैसा असुली तथा टाँगा चालकले समेत लुट्ने गरेपछि धेरैले यो नाका परिवर्तन गरेका छन् । त्यसैले, यात्रुमाथि हुने ज्यादति र दूर्व्यवहारका बारेमा प्रहरी, प्रशासन र सरोकारवाला निकायले भारतीय पक्षसँग सहकार्य तथा समन्वय गरी बेलैमा यस्ता विकृतिलाई हटाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्