काठमाडौं, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो पार्टीभित्रैबाट भइरहेको सरकारको आलोचनालाई ‘क्षणिक डाह’को संज्ञा दिएका छन् ।
दुई साता लामो विदेश भ्रमणबाट बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र पार्टीको सन्दर्भमा गरेको टिप्पणीलाई ‘अस्थायी हावा’ भने ।
कसैलाई पनि पार्टी एकताको विश्वास नलागेको अवस्थामा आफूहरुले पार्टी एकीकरण गरेर आएको भन्दै उनले अबको दुई/चार दिनमा नेकपाका तल्ला तहका कमिटीहरुको एकताले पनि पूर्णता पाउने दाबी गरे ।
चीन, भारतमात्र नभइ विश्व नै नेपालको छिमेकी बन्न गइरहेको भन्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महानसभा र त्यसबाहिर भएका ‘साइडलाइन’ बैठकहरुमा आफूले नेपालको समृद्धि यात्राको विषयमा जानकारी दिएको बताए ।
विश्व समुदायमा नेपालको स्वतन्त्र राष्ट्रको छवि बनाउन सफल भएको, विकास निर्माणमा सहयोगका लागि अपिल गरेको भन्दै उनले आफ्नो भ्रमण अत्यन्तै सफल बनेको दाबी पनि गरे ।
यही असोज ६ गते राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन न्यूयोर्क गएका प्रधानमन्त्री ओली न्यूयोर्कबाट कोस्टारिका भ्रमणमासमेत गइ बिहीबार स्वदेश फर्किएका हुन् ।









प्रतिक्रिया दिनुहोस्