
काठमाडौं, असोज १८ । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठनले पन्त हत्याकान्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारबाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उनले पन्त हत्याकान्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताए ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कन्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धानकेन्द्रित गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ ।
बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारबाही गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
त्यस्तै, हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् ।
विद्यार्थी संगठनले दैनिकजसो बलात्कारका घटना, तेजाब प्रहारका शृंखला र हत्याको घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जीत तामाङलगायत विद्यार्थी संगठनका पदाधिकारी गृह मन्त्रालय पुगेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्