Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नेविसंघको १२औं महाधिवेशन अनिश्चित


0
Shares

काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । 

अघिल्लो महिना सम्पन्न नेविसंघको केन्द्रीय समितिको बैठकले ११औं महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । 

उक्त संघको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मंसिर २ गते म्याद सकिँदैछ । 

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो । 

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताउँछन् ।

‘संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,’ उनी भन्छन् । पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उनको भनाइ छ । 

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसंघमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ । 

नेविसंघका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउँछन् । ‘निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुङ्ग्याउनुपर्छ,’ उनले भने ।

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसंघको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको बताउँछन् ।

विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसंघको निर्वाचन हुन नसक्दा कांग्रेस कमजोर हुने बताउँछन् । ‘नेविसंघ जति बलियो हुन्छ, त्यति नै कांग्रेस बलियो हुन्छ,’ उनी भन्छन् ।

नेविसंघका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण नेविसंघको १२औं महाधिवेशन अन्योलमा परेको बताउँछन् ।

‘नेविसंघको महाधिवेशनका लागि पार्टी सभापतिसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउनेछौं,’ उनले भने, ‘महाधिवेशनको विकल्प महाधिवेशन मात्र भएकाले यथाशक्य छिटो महाधिवेशन सम्पन्न गराउने पक्षमा दवाव सिर्जना गर्छौं ।’

निर्देशन समितिका सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसंघको विधान र नियमावलीबारे छलफल हुने बताउँछन् । (रासस)