सरोज अधिकारी (इमेज)
काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताले नेतृत्वको कार्यशैली रुपान्तरण गरी पार्टी सुदृढीकरण गर्न सुझाव दिएका छन् ।
पार्टी विधान परिमार्जनका लागि देशभरबाट सुझाव दिँदै नेता तथा कार्यकर्ताले विधानलेमात्र पार्टी बलियो हुन नसक्ने भन्दै धनप्रतिको मोह छाडेर जनताको चाहना र कार्यकर्तालाई न्याय गर्न भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पार्टी विधानका विषयमा अहिले बहस चलिरहेको छ । पार्टी विधान परिमार्जन समितिले केन्द्रीयस्तरका नेता पठाएर देशभरका १२ स्थानमा सुझाव लिएको छ ।
तर, अधिकांश स्थानबाट नेता तथा कार्यकर्ताले दिएको सुझाव पार्टी विधान परिमार्जनमाभन्दा पनि नेतृत्वको कार्यशैली र व्यवहार रुपान्तरणमा नै केन्द्रित छ ।
नेतृत्वको अलोकप्रियता र गुटका कारण पार्टी पराजित भएको भन्दै उनीहरुले कार्यशैली सुधार गर्न सुझाव दिएका छन् ।
कांग्रेसभित्र अहिले केन्द्रीय समिति कस्तो हुने ? पदाधिकारी चयन कसरी गर्ने ? क्रियाशील सदस्यता वितरणको विषय कस्तो हुने ? तल्ला तह र संघीय तहको अधिकार क्षेत्र के हुने ? भन्नेलगायतका विषयमा बहस जारी छ ।
केन्द्रले हस्तक्षेप गरेर पैसा हुने वा आफ्ना व्यक्तिलाईमात्र टिकट दिने गरेको भन्दै अधिकांश स्थानीय नेताले तल्ला तहलाई सर्वाधिकारसम्पन्न बनाउन सुझाव दिएका छन् । केहीले भने सभापतिलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताएका छन् ।
विधान परिमाजर्नकाबारेमा बहस भइरहँदा कतिपय नेताले भने आरक्षणको विषयलाई पनि जोडदार ढंगबाट उठाएका छन् ।
देशभरबाट आएको सुझावलाई पार्टी विधान समितिले समेटेर अन्तिम मस्यौदा तयार पार्दैछ । विधानमा सुझाव संकलनका लागि पुग्ने नेतालाई कार्यकर्ताले विधानकाबारेमाभन्दा नेतृत्वको व्यवहारकाबारेमा धेरै सुझाव दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्