Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


दसैंका लागि राजधानी भित्रिने खसीबोकामा स्टिकर


0
Shares

काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकाले दसैंका लागि भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण नगरीकन बिक्रीवितरण गर्न नदिने भएको छ ।

विगतका दसैंमा रोगी भेंडा, च्याङ्ग्रा, बोका, कुखरा तथा हाँस बिक्रीवितरण गरिएको जनगुनासो पछि स्वास्थ्य परीक्षणमा कडाइ गर्न लागेको महानगरले जनाएको छ ।

कृषि सहकारी तथा पशुपन्छी र स्वास्थ्य मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी परीक्षणपछि मात्र बिक्रीवितरण गर्न अनुमति दिने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनाए ।

निश्चित स्थानबाट बिक्रीवितरण गर्न महानगरले स्थानसमेत निर्धारण गरेको छ । बालाजु, टुकुचा, कलंकी, बिजुलीबजार र तीनकुनेमा खसीबोका बिक्री गर्न सकिने उनले बताए ।

स्वास्थ्य परीक्षणपछि स्वस्थ खसीबोकालाई हरियो स्टिकर र बिक्रीवितरण अयोग्यलाई रातो स्टिकर टाँसिने उनले बताए । –कान्तिपुर दैनिकबाट