काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं जलवायु कार्य सप्ताह सम्पन्न भएपनि जलवायु परिवर्तनविरुद्धको अभियान निरन्तर जारी रहने बताउनुभएको छ ।
आईतवार काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु कार्य सप्ताहलाई एउटा कार्यक्रमका रूपमा मात्र नभई निरन्तर कार्य र प्रतिवद्धताको अभियानका रूपमा अघि बढाइने बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन वातावरणको विषयमा मात्र सीमित नरहेको भन्दै यसले मानव जीवन, दैनिक उपभोग, स्वास्थ्य, अर्थतन्त्र, घर, सहर, गाउँ, नदी, हिमाल, पहाड र तराई सबैलाई प्रभावित पारिरहेको बताउनुभयो । त्यसैले जलवायु कार्यमा वातावरणविद् मात्रै नभई नीति निर्माता, कार्यान्वयनकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी र सबै तहका सरकारको सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।
डंगोलले सात दिनसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहमा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याउन सफल भएको बताउनुभयो । उहाँले जलवायु कार्य सप्ताहमा छलफल र बहस मात्रै नभई योजना निर्माण, प्रतिवद्धता र कार्यान्वयनको सुरुवातसमेत गरिएको उल्लेख गर्नुभयो ।
जलवायु वित्त, उत्थानशील पूर्वाधार, फोहोरबाट ऊर्जा उत्पादन, स्वच्छ हावा र जलस्रोत संरक्षणलगायतका विषयमा विभिन्न पहल शुरु गरिएको उहाँले जानकारी दिनुभयो । बालबालिका र युवालाई जलवायु अभियानमा सहभागी गराउने उद्देश्यले सञ्चालन गरिएको ‘वान मिनेट भिडियो च्यालेन्ज: चिल्ड्रेन फर क्लाइमेट’ मा १ हजार १८२ जनाको सहभागिता रहेको पनि उहाँले बताउनुभयो । प्रतियोगिताबाट उत्कृष्ट १० भिडियो छनोट गरिएको र १० जनालाई काठमाडौं क्लाइमेट युथ एम्बेसडर घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता बन्न नसकेका सहभागीलाई निराश नहुन आग्रह गर्दै उहाँले जलवायु अभियानमा सहभागी सबै विद्यार्थी अभियानका दूत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो केवल अवसर मात्र होइन, जिम्मेवारी पनि हो । जलवायु परिवर्तनविरुद्धको अभियानमा तपाईंहरूले कसरी योगदान गर्न सक्नुहुन्छ भन्ने सोच्दै घर जानुहोला ।’
डंगोलले आगामी दिनमा अन्य स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य विस्तार गरिने बताउनुभयो । रिचार्ज काठमाडौं अभियानमा अन्य पालिकालाई समेत जोड्ने तथा स्वच्छ हावासम्बन्धी मार्गनिर्देशन महानगरको आगामी बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने उहाँको भनाइ छ । फोहोरबाट ऊर्जा उत्पादन गर्ने अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै निरन्तर अघि बढाइने उहाँले बताउनुभयो ।
जलवायु कार्य सप्ताहमा शुरु गरिएका प्रतिवद्धतालाई व्यवहारमा उतार्न सबै सरोकारवालासँग सहकार्यको आग्रह गर्दै डंगोलले स्थानीयस्तरमा गरिने कामको प्रभाव राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत देखिने गरी अभियान अघि बढाइने स्पष्ट पार्नुभयो ।






प्रतिक्रिया दिनुहोस्