Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


समलिङ्गी विवाहसम्बन्धी कानून निर्माण गर्न पूर्व संविधान सभा सदस्य पन्तको माग


0
Shares

काठमाडौं । पूर्वसंविधानसभा सदस्य तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका अग्रणी अभियन्ता सुनिलबाबु पन्तले समलिङ्गी विवाह, सम्बन्धविच्छेद, सन्तान, सम्पत्ती तथा उत्तराधिकारसम्बन्धी कानून निर्माण गर्न माग गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सर्वोच्च अदालतले २०८० असारमा समलिङ्गी जोडीको विवाह दर्ता शुरु गर्न सरकारको नाममा निर्देशनात्मक अन्तरिम फैसला गरेको थियो । त्यसयता समलिङ्गी विवाह दर्ता हुँदै आएपनि सम्बन्धविच्छेद, सन्तान प्राप्ति तथा सम्पतीको विषयमा कानून बन्न सकेको छैन । पन्तले महिला र पुरुषबीच मात्रै विवाह हुने व्यवस्थालाई संशोधन गरी दुई व्यक्तिबीच विवाह हुन सक्ने कानूनी व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

समलिङ्गी तथा तेस्रो लिङ्गी जोडीको सम्बन्धविच्छेद, सन्तानको हक र सम्पत्तिसम्बन्धी विषयमा समेत कानूनी स्पष्टता आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले समलिङ्गी जोडीको सम्बन्धविच्छेद भएमा कानूनी प्रक्रिया, धर्मसन्तान ग्रहण गर्न पाउने वा नपाउने व्यवस्था तथा महिला समलिङ्गी जोडीले आफैं वा वीर्यदानमार्फत सन्तान जन्माउने विषयमा कानूनी स्पष्टता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदले कानून चाँडै फेरोस् र महिला र पुरुषले मात्र विवाह गर्न पाउनेगरी बनेको कानून संशोधन गरी दुई व्यक्तिबीच विवाह हुने गरी निर्माण गरोस् । र समलिङ्गी, तेस्रो लिङ्गीबीच भएको विवाहमा सम्बन्धविच्छेद भयो भने के हुने भनेर कानूनी स्पष्टता समेत छैन । त्यसमा पनि कानून परिवर्तन गर्नुपर्ने आवश्यकता छ । अनि सन्तानको के गर्ने ? धर्म सन्तान राख्न पाउने कि नपाउने ? अनि महिला महिला समलिङ्गी जोडीले आफैंले बच्चा जन्माउन वा वीर्यदान लिएर पनि बच्चा जन्माउने विषयमा समेत कानूनी स्पष्टता हुनुपर्यो । त्यसपछि उहाँहरुको सम्पतीको हकको के हुन्छ ? अहिले त श्रीमान श्रीमती हुँदाखेरी श्रीमान बितिहाल्यो भने श्रीमतिको हातमा जाने भन्ने हुन्छ । यो समूदायको हकमा समेत कानूनी स्पष्टता आउनुपर्छ भन्ने लाग्छ । यो विषयमा हामी लड्न थालेको नै २६ वर्ष भइसकेको हुनाले यस विषयमा संसद र सरकारले ध्यान दिएर हाम्रा माग सम्बोधन गरिदिन हामी सबैको माग छ ।

समलिङ्गी जोडीमध्ये एक जनाको मृत्यु भएमा अर्को व्यक्तिको सम्पत्तिमा हक सुनिश्चित हुने व्यवस्था गर्नुपर्ने समेत उहाँको माग छ ।