Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


कुलमानको गृहजिल्ला रामेछापमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार तीव्र


0
Shares

रामेछाप । कुलमान घिसिङको गृहजिल्ला रामेछापमा उज्यालो नेपाल पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

जिल्ला कमिटी पुनर्गठन गर्दै विभिन्न राजनीतिक दलमा आबद्ध तथा स्वतन्त्र रूपमा सक्रिय नागरिकलाई पार्टीमा प्रवेश गराएपछि जिल्लामा संगठनात्मक गतिविधि बढाइएको हो । पार्टीले रामेछापलाई आफ्नो राजनीतिक आधार क्षेत्र बनाउने रणनीतिसमेत अघि सारेको छ ।

मन्थलीमा आयोजित विस्तारित बैठक तथा संगठन पुनर्गठन कार्यक्रमबाट चिना लामाको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा पार्टीको कार्यसमिति गठन भइसकेको अध्यक्ष लामाले जानकारी दिनुभयो । अब केही समयभित्र सबै वडामा समिति गठन गर्ने लक्ष्यसहित स्थानीय नेतृत्व र कार्यकर्तालाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

संगठन पुनर्गठन कार्यक्रममा विभिन्न राजनीतिक दलमा आबद्ध तथा स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा संलग्न नागरिकहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरू देशमा राजनीतिक परिवर्तन, सुशासन, विकास र नयाँ नेतृत्वको अपेक्षासहित पार्टीमा आबद्ध भएको पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज रामकृष्ण लामाले दाबी गर्नुभयो ।

त्यस्तै, केही समयअघि दोरम्बा शैलुङमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका धनलाल योञ्जनले राजनीतिक परिवर्तनका लागि नयाँ शक्ति र विचारलाई अवसर दिनुपर्ने धारणा राख्नुभएको थियो ।

कुलमान घिसिङको गृहजिल्ला भएकाले रामेछापलाई पार्टीले संगठन विस्तारका हिसाबले महत्वपूर्ण मानेको छ । ऊर्जा क्षेत्रमा घिसिङले गरेको काम र उहाँको सार्वजनिक छविबाट प्रभावित नागरिकलाई पार्टीमा जोड्ने रणनीति पार्टीले लिएको देखिन्छ ।

यद्यपि, व्यक्तिगत लोकप्रियतालाई संगठनात्मक शक्ति र निर्वाचनको मतमा बदल्नु पार्टीका लागि चुनौतीपूर्ण रहेको स्थानीय नागरिक समाजको बुझाइ छ ।

रामेछापमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीजस्ता स्थापित दलको लामो समयदेखिको संगठनात्मक आधार र प्रभाव रहँदै आएको छ । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको थियो ।