काठमाडौं । नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गर्नुभएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
काँग्रेसको आधिकारिकता आफूहरुले पाएको दाबी गर्दै उहाँले अब प्रदेश अधिवेशनमा जुट्ने बताउनुभयो । उहाँले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिनुभयो । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन समितिलाई पत्राचार गरिसकिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘जसरी सर्वोच्चमा संसदको पुर्नस्थापनाको मुद्दा छ नि नयाँ संसद त आइसक्यो । त्यसैगरी महाधिवेशन गरेर निर्वाचन आयोगले अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा जुन मुद्दा अदालतमा छ, संसद पुर्नस्थापना हुन्छ भने यो मुद्दा पनि चल्ने हो, होइन भने यो कुरा यहीँ सिद्दियो । वैधानिकताको प्रश्न समाप्त भइसक्यो । छिट्टै हामीले प्रदेश अधिवेशन गर्छौँ । आज मात्रै निर्वाचन आयोग सभापतिसहित हामी एउटा छलफल गरेर प्रदेश अधिवेशनको घोषणा भोलि हुँदैछ र छिट्टै नै हामी यो गरिसक्छौँ । यो प्रक्रिया पूरा भइसक्यो । यो विवादको विषय र छलफलको विषय होइन ।’
उहाँले प्रदेश अधिवेशनको मिति निर्वाचन समितिले आईतवार घोषणा गर्ने पनि जानकारी दिनुभयो ।






प्रतिक्रिया दिनुहोस्