काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गर्नुभएको छ ।
डा. शर्माले डोल्पाबाट एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो । कर्णालीका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत शुक्रवार दुनैमा आयोजित स्वास्थ्य शिविरका क्रममा उनले छात्रवृत्ति घोषणा गर्नुभयो ।
स्वास्थ्य सेवासँगै शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आउनुभएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गर्नुभयो । त्यस्तै, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा खरिद गरेर उपलब्ध गराउने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । आर्थिक अवस्था कमजोर भएका र काठमाडौंमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज नभएसम्म खानाको व्यवस्था पनि गरिदिने उहाँले बताउनुभयो ।
गिरिजाप्रसाद कोईराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा सञ्चालित शिविरमा एकै दिन करिव दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा बिहानैदेखि महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो । डा. शर्माको स्वागतका लागि पनि ठूलो संख्यामा सर्वसाधारण तथा नेता–कार्यकर्ता उपस्थित भएका थिए ।
शिविरमा सहभागी हुन कतिपय सर्वसाधारण तीन–चार दिनसम्म पैदल हिँडेर दुनै पुगेका थिए । डा. शर्माले शिविरमा आएका सर्वसाधारण तथा बिरामीसँग प्रत्यक्ष भेटेर उनीहरूका स्वास्थ्य समस्या र उपचारका क्रममा भोग्नुपरेका कठिनाइबारे जानकारी लिएका थिए । कर्णाली प्रदेशमै उपचार सम्भव नभएका बिरामीको पहिचान गरी काठमाडौं ल्याएर उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
डोल्पाका नागरिकले स्वास्थ्य सेवाका लागि भोग्नुपरेको कठिनाइप्रति राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँले सरकारले डोल्पाको सडक तथा यातायातको अवस्थाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । डोल्पाली नागरिकको पक्षमा आवश्यक काम गर्न उनले राज्यलाई आह्वानसमेत गर्नुभयो । दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको उपचारका लागि आफू जस्तोसुकै योगदान दिन तयार रहेको शर्माको भनाइ छ ।
शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको छ । अन्य सहभागीले पनि आवश्यकताअनुसार विभिन्न रोगको परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श लिएका थिए ।
केएमसीमा रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । यद्यपि, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुँदासम्म खानाको व्यवस्था गरिदिने डा. शर्माले प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षामा पनि सहयोग गर्दै आएका डा. शर्माको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् । छात्रवृत्तिमा अध्ययन गरेका कतिपय विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । सीमान्तकृत सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीका उदाहरण हुन् ।
यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । ती शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले कर्णालीका विभिन्न जिल्लामा अभियान विस्तार गरिएको हो । केएमसीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार तथा शल्यक्रियामा सहयोग गर्दै आएको छ ।
‘जनसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने मान्यतासहित नागरिकको स्वास्थ्य समस्या पहिचान गर्ने र आवश्यक उपचारका लागि साथ दिने अभियानलाई निरन्तरता दिइने डा. शर्माले बताउनुभयो । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकसम्म विशेषज्ञ सेवा पुर्याउनु आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्