काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताउनुभएको छ ।
उद्योगमा रहेका पुराना मेसिन तथा उपकरणको अवस्था अध्ययन गरी तिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत उद्योगलाई नयाँ जीवन दिन सकिने उहाँको भनाइ छ । शुक्रवार हेटौँडा कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगमा रहेका मेसिनहरू निकै पुरानो प्रविधिका भएपनि अझै काम गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।
विगतमा प्रयोग हुँदै आएका मेसिनलाई तत्काल विस्थापित गर्नुभन्दा तिनको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्नुपर्ने उहाँको धारणा छ । मन्त्री पुनले उद्योगमा आवश्यक पर्ने सानातिना पार्टपुर्जा तथा उपकरण स्वदेशमै उत्पादन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो । यसका लागि प्राविधिक टोली निर्माण गरी उद्योगका मेसिन र उपकरणको विस्तृत अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो कारखानाको मेसिनहरु छन्, त्यो मेसिनहरु धेरै पुरानो छ । हाम्रो जिजुबाजेको पालाको हो । यो टेक्नोलोजी धेरै पुरानो हो । पुरानो भएपनि यो फलामको हो । काम गर्दछ । यसलाई केही अनुसन्धान गरेर, नवप्रवर्तन गरेर यसलाई अथोमेटिक बनाउने किसिमले रिसर्चहरु, इनोभेसनहरु गर्न सकिन्छ, सानो पार्टपूर्जाहरु हामी आफैँले बनाउन सकिन्छ भनेर यसबारे छलफल गर्न आएको हो ।’
उद्योगमा विगत २०३६ सालदेखि काम गर्दै आएका प्राविधिक तथा इन्जिनियरहरू रहेकाले उनीहरूको अनुभव र ज्ञान उद्योगको पुनः सञ्चालनका लागि महत्वपूर्ण हुनसक्ने मन्त्री पुनले बताउनुभयो । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले उद्योग सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक स्रोत उपलब्ध गराउन नसके पनि अनुसन्धान र नवप्रवर्तनका काममा सहयोग गर्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।
‘रिसर्च एण्ड इनोभेसन’ पैसाले मात्र सम्भव नहुने उल्लेख गर्दै मन्त्री पुनले त्यसका लागि दक्ष र बलियो प्राविधिक टोली आवश्यक पर्ने बताउनुभयो । उहाँले तत्काल विगतकै अवस्थामा उद्योग सञ्चालन गर्न सम्भव नभए पनि चारदेखि सात सय जनासम्मलाई रोजगारी दिनसक्ने गरी उद्योगलाई पुनर्जीवन दिने प्रयास गर्नुपर्ने बताउनुभयो ।
उद्योग सञ्चालनले आर्थिक उपार्जनसँगै स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने भएकाले सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै नयाँ प्रविधिको माध्यमबाट उद्योगलाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘हामीले कारखाना चलाउने पैसा त दिन सक्दैनौँ हाम्रो मन्त्रालयले । तर कारखाना चलाउन रिसर्च इनोभेसन गर्न सहयोग गर्छौं । रिसर्च एण्ड इनोभेसन भन्नेकुरा पैसाले मात्रै हुने कुरा भएन । पैसा ल्याएर थुपारेर मात्रै इनोभेसन हुँदैन । एउटा बलियो प्राविधिक टिम चाहिन्छ, नयाँ प्रविधिसँग डेभलप गरेर स्वचालित गरेको खण्डमा कारखानाले नयाँ जीवन पाउँछ । कारखाना चलाउनु भनेको पैसा कमाउनु हो । देशमा रोजगारी सिर्जना हुन्छ । अहिले हामीले ७ सयसम्मलाई रोजगारी दिने बनाउन सकिन्छ ।’
वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । त्यसपछि २०५९ सालमा तत्कालीन सरकारले उद्योग औपचारिक रूपमा बन्द गर्ने निर्णय गरेको थियो । बजार व्यवस्थापनको अभाव, प्रविधिको समयानुकूल आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङ, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग धराशायी बन्न पुगेको थियो ।






प्रतिक्रिया दिनुहोस्