Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने


0
Shares

काठमाडौं । कर्णाली प्रदेशमा खेल प्रतिष्पर्धा चलिरहँदा दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली शुरु भएको छ ।

नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा दशौं खेलकुदको ट्रफीसँगै टर्च र्‍याली गर्नेछन् । उक्त टोलीमा कर्णालीकै स्थानीयसमेत रहेका धावक हरिबहादुर रोकाया, १३औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, जुडोकी ओलम्पियन देबु थापा र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ छन् ।

सुर्खेतमा शुक्रवार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायतले उक्त टोलीलाई बिदाइ गरे ।

र्‍याली दैलेखको शिरस्थानबाट औपचारिक शुरुवात हुनेछ । त्यसपछि टोली कालीकोट हुँदै जुम्ला पुग्ने कार्यक्रम छ । जुम्लामा नेपाली चर्चित अल्ट्रा धाविक सुनमाया बुढा पनि टोलीसँगै सामेल हुने कार्यक्रम रहेको टोलीका सदस्य मन्डेकाजी श्रेष्ठले जानकारी दिए । कालीकोट र जुम्लामा पनि ट्रफी र टर्चलाई नगर परिक्रमा गराइने भएको छ । दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेतस्थित कर्णाली रंगशालामा हुनेछ । त्यसअघि नै टोली सुर्खेत आइपुग्नेछ ।

जुम्लाबाट मंसिर १५ गते सुर्खेत आइपुग्ने टोलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वागत गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । शुक्रबार नै सुर्खेतको वीरेन्द्रनगरमा टर्च र्‍यालीसमेत आयोजना भएको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंसिर ८ गतेदेखि खेल सञ्चालन भइरहेका छन् । खेलकुद मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।