काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मी र एपिएफ क्लव कर्णालीमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा समूहविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा पुग्न जित्नैपर्ने खेलमा आर्मीले सहआयोजक राष्ट्र कर्णाली प्रदेशमाथि ९७ रन र सशस्त्र प्रहरी बलको एपिएफले मधेस प्रदेशमाथि ८० रनको जित निकाल्दै समूह विजेता बने । तीन समूहबाट शिर्ष टोली र उत्कृष्ट एक उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान छ । तीनै समूहका उपविजेताको समान अंक भए नेट रनरेट आधार बन्ने भएको छ । तीन टोली रहेको समूह ‘ए’ बाट आर्मी र समूह ‘बी’ बाट एपिएफ विजेताका रूपमा सेमिफाइनलमा पुगे । समूह ‘सी’ बाट यसअघि नै बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेको छ । समूहको चरणको अन्तिम खेलमा मंगलवार गण्डकी र सुदूरपश्चिम प्रदेश बीच हुनेछ । यो खेलपछि नै उत्कृष्ट एक उपविजेताको टुङ्गो लाग्नेछ ।
अहिलेसम्म समूह ‘ए’ मा कोशी र समूह ‘बी’ मा मधेशले समान दुई अंक जोड्दै उत्कृष्ट उपविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बनाएका छन् । सुर्खेतस्थित वीरेन्द्रनगर क्रिकेट मैदानमा शुक्रवार भएको समूह ‘बी’ को खेलमा जित निकाल्दै मधेश सेमिफाइनलमा पुग्ने लक्ष्यमा थियो । तर पूजा महतोको कप्तानीमा रहेको मधेसले खराब ब्याटिङ गरेपछि लक्ष्य पूरा हुन सकेन । एपिएफले १४४ रनको लक्ष्य दिएको थियो । तर मधेशले २० ओभर नै खेले पनि सात विकेटको क्षतिमा ६३ रन मात्र जोड्न सक्यो । कप्तान पूजासहित शीर्ष तीन ब्याटर शून्यमा नै पभेलियन फर्किए । एलिसा यादव, सना प्रबिन र पूजा जस्ता महत्वपूर्ण ब्याटरले खाता नै खोल्न सकेनन् ।
३/३ स्थितिबाट मधेस समालिन नै सकेन । मध्य क्रमकी ब्याटर अनुराधा चौधरीले १४ र सरस्वती चौधरीले १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन नै जोड्न सकेनन् । एपिएफको बलिङमा सुमन बिष्ट र राजमती ऐरीले समान दुई तथा रेखा रावल कविता जोशीले समान एक विकेट लिँदा किफायती बलिङ गरे । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ६ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । एपिएफको पनि निकै खराब सुरुआत रह्यो । उसले ३ रन जोड्दा नै तीन विकेट गुमाउन पुग्यो । शीर्ष ब्याटर रेवती धामी २ रनमा आउट हुँदा कप्तान सीता रानामगर र राजमती ऐरीले खाता नखोल्दै आउट भए ।
नेपाली राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी इन्दु बर्मा र रोमा थापाले ९५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ समाले । इन्दु ५६ रनमा आउट भइन् । उनले ५१ बलमा ९ चौका हिर्काइन् । रोमाले पाँचौं विकेटका लागि पनि कविता जोशीसँग ३७ रनको साझेदारी राम्रो लक्ष्यतर्पm अग्रसर गराइन् । रोमा ४४ रनमा नटआउट रहिन् । उनले ४४ बलमा चार चौका प्रहार गरिन् । कविताले १७ बलमा २३ रन जोडिन् । एपिएफले १३ अतिरिक्त रन पनि पायो । मधेसको बलिङमा कप्तान पूजाले दुई तथा सरस्वती चौधरी, प्रशिद्धिका खड्का र प्रज्ञा क्षेत्रीले समान एक विकेट लिए ।
समूह ‘ए’ को खेलमा ब्याटिङमा सम्झना खड्का र बलिङमा मनीषा उपाध्याय चँम्कदा आर्मीले कर्णालीमाथि सहज जित रच्यो । समूहको अन्तिम खेलमा जित निकाल्दै कर्णाली पनि दोस्रो चरणमा पुग्न चाहन्थ्यो । तर बलिङ र ब्याटिङ दुवैमा राम्रो गर्न नसक्दा जितविहीन हुँदै बाहिरियो । आर्मीले १३९ रनको लक्ष्य दियो । त्यो लक्ष्य पछ्याएको कर्णाली १३।१ ओभरमा ४१ रनमै अलआउट हुन पुग्यो । दशौं नम्बरकी ब्याटर जयन्ती चन्दले १० रन जोडिन् । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीको बलिङमा मनीषाले चार तथा यमुना थारुले तीन विकेट लिँदा कविता कुँवरको नाममा दुई विकेट रह्यो । लक्ष्मी साउदीले एक मात्रै बलमा एक विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभरमा चार विकेट गुमाउँदै १३८ रनको मध्यम योगफल बनायो । ओपनर सम्झना खड्काले ६२ रन र यशोदा विष्टले ३३ रनको जोडे । कविता कुँवरले ६ बलमा ११ रन बनाइन् । सम्झनाले ५८ बलमा १० चौका हिर्काइन् । यशोदाले ३९ बल खेल्दा तीन चौका प्रहार गरिन् । कर्णालीले २० रन अतिरिक्त दिएपछि आर्मीलाई मद्दत मिलेको थियो । कर्णालीको बलिङमा गंगा खड्का, रमा बुढाथोकी, सोनु चन्द र किरण कुमारी कुँवरले समान एक विकेट लिए ।






प्रतिक्रिया दिनुहोस्