Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


मेयर हुँदा बालेनले फुटपाथ व्यवसायीमाथि गरेको व्यवहारको मूल्य सुकुम्बासीले चुकाउनुपर्‍यो: मानव अधिकारकर्मी प्याकुरेल


0
Shares

काठमाडौं । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यवद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज सुकुम्बासी नागरिकले दुःख पाउने स्थिति सिर्जना भएको बताउनुभयो ।

उहाँले फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेमाथि गरेको दमनको निरन्तरता नै सुकुम्बासी नागरिकमाथिको व्यवहार भएको तर्क समेत गर्नुभयो । उहाँले मुलुकमा भएका प्रत्येक परिवर्तनपछि जनताले धोका पाउँदै आएको उल्लेख गर्दै जेनजी आन्दोलनपछि युवालाई सत्ता सुम्पिए पनि उनीहरूको कार्यशैलीमाथि नागरिक समाजबाट पर्याप्त निगरानी हुन नसकेको समेत बताउनुभयो ।

प्याकुरेलले सुकुम्बासी नागरिक नदी किनार तथा अव्यवस्थित क्षेत्रमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने भन्दै उनीहरूको व्यवस्थापन राज्यको दायित्व भएको बताउनुभयो । उहाँले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै नागरिकको आवतजावतको अधिकारसँगै बस्न पाउने अधिकारका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा धेरै परिवर्तन भएका छन्, तर हरेक चोटीको परिवर्तनपछि हामीले धोका पाएका छौँ । त्यही धोकाको फलस्वरुप त्यत्रो युवाहरुले आन्दोलन गर्नुभयो र हामीले नवयुवाहरुलाई देश सुम्पियौँ । तर त्यो युवाहरुमा के थियो भन्ने कुरा हामीले हेरेनौँ । जतिबेला हामीले बालेनलाई काठमाडौं महानरगपालिकाको मेयर बनायौँ त्यसको सबभन्दा पहिलो आक्रमणमा फुटपाथमा बसेर सामान बेचेर घरगुजारा चलाउनेहरु परे । हामीले देखेका छौँ, मेयर भनेको जनताको सबभन्दा नजिकको सरकार पनि हो । तर हामीले बालेनको त्यो गतिविधिलाई नजरअन्दाज गर्यौँ । यहाँसम्म भनियो कि साना पसल थापेर फुटपाथ ओगटेर बस्ने होइन आआफ्नो ठाउँ फर्क भनियो । म आफैं पनि करिब ५० वर्षदेखि मानव अधिकारको बारेमा बोल्दै आइरहेको छु, अहिले पनि सडकमै छुँ । आखिर किन यस्तो भइरहेको छ? हामी मानव अधिकारकर्मी समेत राइट टू मुभ भनेर धेरै कराउने गरेका छौँ । हामी फ्रिडम अफ मुभमेन्टको कुरा पनि गर्दछौँ । तर यहाँ त राइट टू स्टे भनेर लड्ने बेला आयो । सुकुम्बासी नागरिकहरु शहर आएर नदी किनारामा, फोहोर ठाउँमा किन बस्न बाध्य भए? त्यसप्रतिको दायित्व कसको हो त? आज यो सरकार बन्नासाथ सुकुम्बासीमाथि डोजर लगाएर हटाइयो र काठमाडौंलाई सुन्दर बनाइन्छ भनियो । सुकुम्बासीको व्यवस्थापन गर्छौँ भनेर आश्रयस्थलमा राखियो । अहिले आएर खाली गर भनेर उर्दी जारी गर्यो? कस्तो दायित्वहीन सरकार । त्यसकारण हामी तपाईं सबैले बुझ्नुपर्यो यो देशमा कानूनको शासन होइन मनपरी शासन चलेको छ ।’

उहाँले नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यले सुकुम्बासी नागरिकलाई आवास, जीविकोपार्जन र सामाजिक सुरक्षाको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।