कुमार श्रेष्ठ, नेपालगन्ज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधामा बागमती प्रदेशले च्याम्पियन बन्ने सफलता हासिल गरेको छ ।
नेपालगन्ज रंगशालामा सम्पन्न पौडी प्रतिस्पर्धामा बागमतीले कुल ३५ पदक जित्दै शीर्ष स्थान कब्जा गरेको हो । बागमतीले १६ स्वर्ण, ९ रजत र १० कास्य पदक आफ्नो नाममा पारेको छ ।
१२ स्वर्ण, ४ रजत र ४ कास्य गरी २० पदक जितेको एनआरएनए दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाल आर्मीले ७ स्वर्ण, १५ रजत र १७ कास्यसहित ३९ पदक जित्दा नेपाल पुलिस क्लबले ६ स्वर्ण, १४ रजत र १६ कास्य गरी ३६ पदक हात पारेको छ ।
कोशी प्रदेशले ३ स्वर्ण तथा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेका छन् ।
प्रतियोगिताका विभिन्न स्पर्धामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । पुरुष ८०० मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका कल्किन श्रेष्ठले स्वर्ण जित्दा सुदूरपश्चिमका अथर्व श्रेष्ठ दोस्रो र पुलिसकै रचित बुढाथोकी तेस्रो भए ।
महिला ४०० मिटर फ्रिस्टाइलमा एनआरएनएकी लिली बोहराले स्वर्ण जितिन् । यस स्पर्धामा नेपाल आर्मीकी डुआना लामा र एनआरएनएकी मिखाकाया थापाले कास्य पदक हात पारे ।
पुरुष २०० मिटर इन्डिभिजुअल मेड्लेमा बागमतीका अभिभ प्रधानले स्वर्ण जिते । नेपाल पुलिसका इर्भिन श्रेष्ठले रजत र कल्किन श्रेष्ठले कास्य पदक प्राप्त गरे ।
महिला १०० मिटर ब्याकस्ट्रोकमा नेपाल आर्मीकी डुआना लामा पहिलो भइन् । एनआरएनएकी लिली बोहराले रजत तथा बागमतीकी रोयल प्रजापतिले कास्य जितिन् । पुरुषतर्फ कोशीका विकास कुमालले स्वर्ण, आर्मीका जडेन श्रेष्ठले रजत र बागमतीका अरेक कर्माचार्यले कास्य पदक जिते ।
महिला २०० मिटर बटरफ्लाईमा एनआरएनएकी लिली बोहराले स्वर्ण जित्दा आर्मीकी डुआना लामाले रजत र पुलिसकी दिभान्सी जोशीले कास्य हात पारिन् । पुरुषतर्फ सुदूरपश्चिमका अथर्व सिंहले स्वर्ण जिते भने आर्मीका सौरेनबहादुर सिंह दोस्रो र असिम भण्डारी तेस्रो भए ।
महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनएकी मिखाकाया थापा पहिलो भइन् । बागमतीकी आर्य एसआर महर्जनले रजत र रोयल प्रजापतिले कास्य जितिन् । पुरुषतर्फ पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण, बागमतीका अभिभ प्रधानले रजत र आर्मीका अल्भिन महर्जनले कास्य पदक जिते ।
रिले स्पर्धामा पनि बागमतीले आफ्नो वर्चस्व कायम राख्यो । महिला ४ गुणा १०० मिटर फ्रिस्टाइल रिले, पुरुष ४ गुणा ५० मिटर फ्रिस्टाइल रिले तथा महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल मेड्ले रिलेमा बागमतीले स्वर्ण पदक जितेको छ ।
तीनवटै रिले स्पर्धामा नेपाल आर्मी र नेपाल पुलिस क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहे ।






प्रतिक्रिया दिनुहोस्