प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदीमा हाम फालेको आशंका गरिएकी एक युवतीको शव फेला परेको छ। बैतडीको पाटन नगरपालिका (२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका (१८ कटानमा डेरा गरी बस्दै आएकी २१ वर्षीया कमला पाण्डेयको शव बिहीबार दिउँसो फेला परेको हो।
सुदूरपश्चिम विश्वविद्यालयमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत पाण्डेय बुधबारदेखि सम्पर्कविहीन थिइन्। मङ्सिर ९ गते बुधबार अपराह्न ४ बजेर २० मिनेटतिर दोधारा चाँदनी नगरपालिका (१ स्थित महाकाली नदीमाथिको चारलेन पक्की पुल क्षेत्रमा उनको झोला र मोबाइल फेला परेको थियो। त्यसपछि उनी नदीमा हाम फालेको हुन सक्ने आशंकामा सुरक्षाकर्मीले खोजी सुरु गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरीका अनुसार घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको बीओपी भूमिराजटोलबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्रराज विष्टको कमान्डमा पाँच जनाको टोली खोजीमा खटिएको थियो। पहिलो दिन खोजी गर्दा उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
बिहीबार बिहान सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रभातकुमार गौतमको कमान्डमा १८ जनाको टोली परिचालन गरिएको थियो। टोलीमा विपद् व्यवस्थापन तालिमप्राप्त सात जना सुरक्षाकर्मीसमेत सहभागी थिए। रबरबोट तथा उद्धार सामग्री प्रयोग गरी खोजी गर्ने क्रममा दिउँसो १ बजे चारलेन पुलबाट करिब एक किलोमिटर दक्षिणतर्फ नदीमा उनको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिमांशु चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा मुचुल्कालगायतका प्रक्रिया पूरा गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्