काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको अगामी कार्यदिशाको विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
बुधवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग पार्टीका संसदीय दलका प्रमुख सचेत एवं केन्द्रिय सदस्य निश्कल राईले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार बैठकमा काँग्रेसले शुरु गर्न लागेको ‘काँग्रेस तयार छ’ अभियानलाई गाउँ र टोल तहसम्म कसरी विस्तार गर्ने भन्ने विषयमा केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् ।
उहाँले संविधान र लोकतान्त्रिक व्यवस्था संरक्षणका लागि नागरिकको विश्वास जित्न काँग्रेस तयार रहेको सन्देश तल्लो तहमा पुर्याउनुपर्ने विषयमा केन्द्रित भएर सदस्यहरुले कुरा राखिरहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेस पार्टीमा आबद्ध हुन चाहाने सबैलाई समेटेर अघि बढ्ने समेत बताउनुभयो । उहाँले पार्टीको आधिकारिकताको विवाद समाप्त भइसकेको समेत दाबी गर्नुभयो ।
सभापति गगनकुमार थापा नेतृत्वको काँग्रेस नै आम नागरिकले चिन्ने काँग्रेस भएको उल्लेख गर्दै उहाँले पार्टीको झण्डा र रुख चिह्न प्रयोग गरी अन्य पक्षले कार्यक्रम आयोजना गरे त्यसबारे पार्टीभन्दा पनि निर्वाचन आयोगले हेर्नुपर्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘बैठकमा काँग्रेस तयार छ भन्ने अभियान कसरी अगाडि बढाउने र उक्त अभियानलाई कसरी ग्रासरुटसम्म पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । र केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा राख्ने कार्य जारी छ । नेपाली काँग्रेस अगामी दिनमा हुने स्थानीय र प्रदेश निर्वाचनको लागि तयार छ । यो संविधान र लोकतान्त्रिक व्यवस्था जोगाउनको लागि हामीलाई नागिरकको विश्वास चाहिएको छ । विश्वास जित्नको लागि हामी तयार छौँ । भर्खरै मात्र हाम्रो महाधिवेशन सम्पन्न भएको छ । आजै हाम्रो नियमित महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक पनि गरेको छ । अब छिट्ट गाउँगाउँमा टोल टोलमा पुगेर काँग्रेस तयार छ भन्ने सन्देश दिन्छौँ । हामी काँग्रेसमा आबद्ध हुन आउने सबैलाई समेटेर जाने हो । अहिले आम देशवासीले नेपाली काँग्रेस भनेर चिनेको सभापति गगनकु्मार थापा नेतृत्वको नेपाली काँग्रेस हो नि । यदि त्यसो होइन हाम्रो पार्टीको झण्डा र रुख चिन्ह प्रयोग गरेर कुनै कार्यक्रम आयोजना हुन्छ भने हामीले भन्दा पनि निर्वाचन आयोगले जान्ने कुरा हो ।’
उहाँकाअनुसार बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र पार्टीले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा आ–आफ्ना धारणा प्रश्तुत गरिरहेका छन् । बैठक बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।






प्रतिक्रिया दिनुहोस्