Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


भक्तपुरको होल्डिङ सेन्टर मंसिर ११ भित्र खाली गर्न प्रशासनको निर्देशन


0
Shares

काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र शिविर छाड्न निर्देशन दिएको छ।

प्रशासनले सूचना जारी गर्दै कृषि विकास बैंकको तालिम केन्द्रमा सञ्चालन भइरहेको अस्थायी शिविर मंसिर ११ गते दिउँसो २ बजेसम्म खाली गर्न भनेको हो। भूमि समस्या समाधान समितिबाट प्राप्त पत्रका आधारमा यस्तो सूचना जारी गरिएको प्रशासनले जनाएको छ।

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाइएपछि विस्थापित भएका सुकुमबासी परिवारलाई उक्त स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको थियो।

प्रशासनका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको छ। त्यसैले ती परिवारलाई भूमिहीनको सूचीमा नराखिने भएको छ।

जग्गा नभेटिएका १२ परिवारका हकमा भने सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको र उनीहरूले त्यससम्बन्धी निस्सासमेत पाइसकेको सूचनामा उल्लेख छ।

प्रशासनले जग्गा नभएका परिवारलाई आफ्नो निस्सा बुझ्न र सरकारले घरभाडाबापत उपलब्ध गराउने सुविधा लिन आग्रह गरेको छ।