प्रकाश भट्ट, कञ्चनपुर । जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न कञ्चनपुरका स्थानीय सरकारहरू एकजुट भएका छन् । वेदकोट नगरपालिकामा मंगलबार सम्पन्न छैटौँ कञ्चनपुर सम्मेलनले १३ बुँदे वेदकोट घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो ।
‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने सन्देशका साथ आयोजित सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय, गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाहरू सहभागी थिए । कार्यक्रममा जलवायु परिवर्तनले निम्त्याएका चुनौती, विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र दिगो विकासका उपायबारे छलफल भएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् सामना गर्न सक्षम समुदाय निर्माणको सुरुवात घरपरिवारबाटै हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पूर्वाधार विकास गर्दा वातावरणीय पक्ष र सम्भावित विपद्को जोखिमलाई ध्यान दिनुपर्ने बताउँदै स्थानीय सरकारलाई आवश्यक नीतिगत, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले विपद्सम्बन्धी जानकारी र पूर्वतयारीलाई समुदायको तल्लो तहसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वसूचना प्रणालीबाट प्राप्त हुने एसएमएसलाई नागरिकले गम्भीरतापूर्वक नलिने समस्या रहेको उल्लेख गर्दै उहाँले ठूलो आवाज र कम्पनमार्फत जोखिमको सूचना दिने सेल ब्रोडकास्टिङ प्रणालीको परीक्षण सफल भएको जानकारी दिनुभयो ।
सम्मेलनका व्यवस्थापकीय साझेदार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले स्थानीय तहबीच अनुभव र सिकाइ आदानप्रदानका लागि सम्मेलन उपयोगी भएको बताउनुभयो । उहाँका अनुसार विपद् व्यवस्थापन तथा जलवायु अनुकूलनका क्षेत्रमा साझा योजना र कार्यदिशा तय गर्न सम्मेलन आयोजना गरिएको हो ।
वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले विपद्को जोखिम कम गर्न जिल्लाका स्थानीय तहबीच एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र विपद् आउनुअघिको तयारीलाई प्रभावकारी बनाउन साझा योजनासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
बाढी, डुबान, नदी कटान र जलवायु परिवर्तनका प्रभावबाट कञ्चनपुर उच्च जोखिममा रहेको छ । महाकाली, जोगबुढा, दोदा, चौधर, बनरा, सुनबरा र स्यालीलगायतका नदीबाट बर्सेनि हुने क्षति रोक्न स्थानीय तहबीच समन्वय र सामूहिक पूर्वतयारी आवश्यक रहेको सम्मेलनले औँल्याएको छ ।
स्थानीय सरकारको अगुवाइमा सम्पन्न सम्मेलनमा एनएनएसडब्लूए, डिसीए नेपाल, प्रोस्पर ग्लोबल, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल, आईएचआरआर, नक्सा प्रालि, नबिल बैंक र शिखर इन्स्योरेन्सलगायत संस्थाले सहकार्य गरेका थिए ।
मेयर्स फोरमको अवधारणाबाट सुरु भएको कञ्चनपुर सम्मेलन पछिल्लो समय विपद् व्यवस्थापन, जलवायु अनुकूलन र दिगो विकासका विषयमा छलफल गर्ने साझा मञ्चका रूपमा अघि बढिरहेको छ । यसअघि भीमदत्त, पुनर्वास, दोधारा चाँदनी, लालझाडी र बेलौरीमा यस्ता सम्मेलन आयोजना भइसकेका छन् ।






प्रतिक्रिया दिनुहोस्