काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तन नेपालको मात्र भइ सारा पृथ्वीको साझा विषय भएको बताउनुभएको छ ।
सोमवार काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाण्डु क्लाइमेट एक्शन विकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनले भौगोलिक दूरी मात्रै नहेर्ने भन्दै यसले सबैले साझा महत्व दिएर जलवायु परिवर्तनको असर न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।
जलवायु परिवर्तनको असरले सिमित भूगोललाई मात्रै असर नपर्ने भन्दै सबै देशहरुले जलवायु परिवर्तनको असर न्युनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । विश्वको तापक्रम बढेकै कारणले हिमाल पग्लिरहेको र हिमतालहरु फुटिरहेको बताउनुभयो ।
जलवायु परिवर्तनसँगै दिनहुँ मौसमी चक्रको समेत असर नेपालले खेपिरहेको उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण नेपाली हिमाली समुदायहरुले बाढी, पहिरो, हिमतालको सामना गर्नु परिरहेको जिकिर गर्नुभयो । नदी, कृषि, जीवनशैलीमा यसले ठूलो असर पारिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषय सिंगो पृथ्वी र सिंगो नेपालको विषय हो । केबल काठमाण्डुको विषय मात्र होइन । जलवायु परिवर्तनले भौगोलिक दूरी हेर्दैन, न भौगोलिक सीमा चिन्छ, न क्षेत्र, दूरी, न लिङ्ग चिन्छ । त्यसले हरेक पुस्ता, हरेक ठाउँ, हरेक भुगोललाई प्रभाव पारिरहेको हुन्छ । नेपालको लागि अझ यो वास्तविकता विशेष महत्वपूर्ण रहेको छ । नेपाल निकै संवेदनशील मुलुक छ । हामी हिमालको काखमा रहेको देश हो । विश्वको तापक्रम बढेकै कारणले हिमाल पग्लिरहेको छ । जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरुमा हिउँ पग्लिरहेको छ । हिमताल फुटिरहेको छ । जलवायु परिवर्तनसँगै हामीले दिनहुँ भेट्ने मौसमी चक्र पनि परिवर्तन भइरहेको छ । दिनहुँ रुपमा कुनै न कुनै हिसावले जनजीवनमा आइपर्ने जलवायुका विषयहरु हामीले पाइरहेका छौँ । हाम्रा समुदायहरु बाढीबाट पीडित भइरहेका छन् । यो शहर पनि यसबाट अछुतो छैन । हिमलमा हुने परिवर्तनले हिमालमा मात्रै प्रभाव पारेको छैन । नदी, कृषि, जीवनशैलीसँग जोडिएको छ । लाखौँ मानिससँग जोडिएको छ ।’
कार्यवाहक प्रमुख डंगोलले जलवायु परिवर्तनका कारण नेपाल धेरै जोखिममा रहेको बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्