Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सिन्धुलीमा बोलेरोबाट खसेर एक जनाको मृत्यु


0
Shares

सिन्धुली । सिन्धुलीमा बोलेरो गाडीको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योन्जन रहेका छन् । उनको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडक खण्डमा बोलेरोबाट खसेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरोमा सवार योन्जनले ढोकाको लक समातेर बसेका थिए । सोही क्रममा अचानक लक खुलेपछि उनी सडकमा खसेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएका उनलाई चिकित्सकले बिहान ९ः५० बजे मृत घोषणा गरेका थिए ।

घटनापछि बोलेरो चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बो र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।