काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरुको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गर्नुभएको छ ।
आईतवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत गर्नुभयो । महासचिव पोखरेलले दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको दाबी गर्दै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको आरोप समेत लगाउनुभयो ।
उहाँले जनताले आर्थिक कठिनाइ भोगिरहँदा शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको टिप्पणी समेत गर्नुभयो । उहाँले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा समेत नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रश्तुत गर्दा मानिसको सिर्जनशीलता र मानसिक रुपमा समेत विभिन्न नकारात्मक असरहरु देखिएको उल्लेख गर्नुभयो । उहाँले मानिसहरु सामाजिक सञ्जालमा झुम्मिने कुराले मुलुकको परम्परा, संस्कृति र सभ्यता नै संकटमा परेको समेत टिप्पणी गर्नुभयो । उहाँले नेपाली समाज लाइक र भ्युज पाउने लोभमा आफैं नाङ्गिन थालेको टिप्पणी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरु भनौँ सबैभन्दा पीडा जनतालाई भएको छ । किन भएको छ भने महँगी बढेको बढेई छ । दुई वर्ष अगाडि बजार भाउ के थियो र अहिले दुई वर्षपछि बजार भाउ के छ भनेर हेर्ने हो भने आकाश जमिनको अन्तर छ । आखिर सरकार भनेको त जनताको सुखको लागि हो नि त । जनताले सबै कुरा गुमाउने अनि शासनमा बस्नेहरुले चमत्कार गरिदिन्छन् भनेर हामी कहिलेसम्म बस्ने ? गर्ने केही पनि होइन गर्छ कि भनेर मख्ख पारेको छ । हामीले यो मोबाइलको भाँडोलाई मोहनि लगाइदियौँ । यदि तपाईले केही कुरा हेर्नुभयो भने योलाई यही चिज मन पर्दो रहेछ भन्छन् र पठाको पठाइ गर्छन् । बिरामी परेको बेलामा नेताहरुले गरेको सहयोग जनताले सहजै बिर्सिदिने भएको छ, सामाजिक सञ्जालले चमत्कार गर्छ भन्ने कुरा सम्झिएर यस्तो समस्या हुने गरेको छ । न यसले हिजो भएको छ न त भोलि हुनेवाला छ । यसले हाम्रो दिमागमा जुन असर पारेको छ यसबाट हाम्रो समाजलाई जोगाउनुपर्नेछ । त्यो जोगाउने चिज के हो त भन्दा हाम्रा परम्परा, हाम्रा मूल्य र हाम्रा संस्कृतिहरु समेत यसले खाइरहेको छ । यो मोबाइलको भाँडोले हाम्रो संस्कृति र सम्पदालाई खाइराखेको छ ।’
उहाँले मुलुकको संस्कृति, परम्परा र रितिरिवाजको जगेर्ना गर्न सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।






प्रतिक्रिया दिनुहोस्