काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिनुभएको छ ।
उहाँले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने बताउनुभएको हो । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको बताउनुभयो । केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषय उठेको भएपनि संविधान र कानूनको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
दाहालले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने बताउनुभयो । स्थानीय र प्रदेश सरकारलाई संविधान तथा कानुनले दिएको पाँचवर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले संविधान र कानून मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी दिनुभयो । एक ठाउँमा संविधान र कानून मिच्ने बाटो खोलिए त्यसले अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठाउने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्नसक्ने उहाँको भनाइ छ ।
निर्वाचन आयोगमा भएको छलफलमा आफूहरूले संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर जान नहुने धारणा राखेको उहाँले बताउनुभयो । आयोगले पनि स्थानीय र प्रदेश सभाको निर्वाचन दुईपटक नै गर्नु संविधान र कानुनसम्मत हुने विषयमा स्पष्ट धारणा राखेको दाहालको भनाइ छ । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सर्वदलीय बैठक राखेर राजनीतिक छलफलपछि अन्तिम धारणा आयोगलाई जानकारी गराउने प्रश्ताव गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको राजनीतिक प्रतिस्पर्धा आमसभामा भाषण गर्नमा मात्र सीमित छैन। डिजिटल प्रविधि, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण भइसकेको छ । त्यसैले पार्टीले आईटीको प्रयोगलाई संस्थागत र व्यापक बनाउँदै जनतासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहललाई समेत विस्तार गर्नुपर्छ । निर्वाचनको सन्दर्भमा स्थानीय र प्रदेश सरकारको कार्यकाल तथा निर्वाचन संविधान र प्रचलित कानुनअनुसार हुनुपर्ने धारणा राखिएको छ । स्थानीय तहको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेश सरकारको कार्यकाल मङ्सिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा जोड दिइएको छ । निर्वाचनको नाममा संविधान र कानून मिच्ने प्रयासले देशमा थप राजनीतिक संकट निम्त्याउन सक्ने भएकाले सबै राजनीतिक दल जिम्मेवार र सचेत हुन आवश्यक छ । लोकतान्त्रिक व्यवस्था, संविधान र कानुनी शासनको रक्षा गर्दै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।’
दाहालले आगामी राजनीतिक प्रतिष्पर्धा भाषण र आमसभामा मात्र सिमित नरहने भन्दै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताउनुभयो । एआई र सूचना प्रविधिमा पछाडि पर्ने राजनीतिक शक्ति निर्वाचनदेखि राष्ट्रिय प्रतिष्पर्धासम्म कमजोर हुनसक्ने उहाँको तर्क छ ।
उहाँले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै सूचना प्रविधिको प्रयोगलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्