Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


बजेट कटौती र विपद् व्यवस्थापनमा ढिलाइबारे सरकारलाई खबरदारी गर्न एमाले महासचिव पोखरेलको निर्देशन


0
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केन्द्र सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेटमा गरेको कटौतीबारे जनतालाई जानकारी दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार च्यासलमा आयोजित एमाले राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले विगतको केन्द्र सरकार र वर्तमान सरकारबाट स्थानीय तहले प्राप्त गर्ने बजेटबीचको अन्तर सार्वजनिक गर्दै वर्तमान सरकार नागरिकप्रति कति अनुदार छ भन्ने कुराको जानकारी आम नागरिकलाई दिनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहमा सञ्चालित विकास निर्माणका आयोजना तथा विपद्पछि पुनःनिर्माणमा सरकारले गरिरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध पनि दबाब सिर्जना गर्न उहाँको निर्देशन छ ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको बजेटमा भएको कटौतीका सन्दर्भका बारेमा केन्द्र सरकारको ध्यान ध्यानार्कर्षण गर्ने, कटौतीको विरोध गर्ने र जनताका बिचमा पहिलेको केन्द्र सरकारले हामीलाई दिने बजेट र अहिलेको सरकारले दिने बजेटका बिचमा के कमी रह्यो भन्ने कुरा बताउनुपर्नेछ । त्यसो भयो भने वास्तवमा स्थानीय विकासका सन्दर्भमा अहिलेको सरकार त अनुदार रहेछ भन्ने कुराको सन्देश दिन सक्दाखेरि स्वाभाविक रूपमा चाहीँ हाम्रो जनाधार विस्तार गर्ने कुराहरूमा त्यसले सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ । त्यो हिसाबले पनि तपाईंहरूले भूमिका खेल्नुहुनेछ । अर्कोतर्फ, विपद् व्यवस्थापनका खासगरी पुनर्निर्माणका सन्दर्भमा सरकारले गरेको ढिलासुस्ती । हेलचेक्र्याइँका कुरामा समेत सरकारलाई दबाब दिने कुराहरु पनि गर्न सकिन्छ । त्यसका लागि गाउँपालिका, नगरपालिका र जिल्ला विकास समन्वय समितिका महासंघहरुका भेला आयोनजना गरेर सरकारको ध्यानाकर्षण गर्ने योजना बनाउनुहोस् । यसरी जनपक्षीय काम र सरकारलाई ध्यानाकर्षण गराउने र दबाब दिने काम भयो भने सहज हुन्छ भन्ने मलाई लाग्छ ।’

उहाँले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्दै समानन्तर रुपमा निर्वाचनको तयारीमा जुट्न पनि आग्रह गर्नुभयो ।

Skip This