शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङमा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणका लागि कोशी प्रदेश सरकार र जग्गादाताबीच पाँचबुँदे सम्झौता भएको छ ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली र अस्पताल तथा मेडिकल कलेज निर्माणका लागि गठित संघर्ष समितिका संयोजक माधव ढुंगानाबीच सम्झौता भएको हो ।
लामो समयदेखि निर्माण प्रक्रिया अघि नबढेपछि संयोजक ढुंगानाले विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका थिए । पाँचबुँदे सहमतिपछि अनशनरत प्रतिनिधिहरूले आन्दोलन स्थगित गरेका छन् ।
सम्झौताअनुसार अस्पताल निर्माणका लागि दान गरिएको जग्गाको प्राविधिक टोलीबाट निरीक्षण गर्न तत्काल प्रक्रिया अघि बढाइनेछ । यस्तै, सामाजिक विकास मन्त्रालयको नाममा रहेको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा ल्याउन आवश्यक प्रक्रिया थालिने सहमति भएको छ ।
अस्पताल निर्माणका लागि आगामी मंसिरभित्र वातावरणीय परीक्षण गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने र चालु आर्थिक वर्षभित्र त्यसको प्रतिवेदन तयार पार्ने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौताका पहिलो र तेस्रो बुँदाको कार्यान्वयनसम्बन्धी प्रतिवेदन तयार भएपछि आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गरिने जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्