काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाउनुभएको छ ।
शनिवार पार्टीको ललितपुर लिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोईरालाको पुख्र्यौली घरसमेत जलाइएको बताउनुभयो । आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उहाँको भनाइ छ ।
उहाँले यसलाई षड्यन्त्रको संज्ञा दिनुभयो । देउवाले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गर्नुभयो । वीपी कोईरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदान स्मरण गर्न आग्रह गर्दै उहाँले काँग्रेसका लागि पसिना बगाएका नेता तथा कार्यकर्ताका सन्तान अझै पार्टीसँगै रहेको बताउनुभयो ।
देउवाले भन्नुभयो, ‘जेन–जी आन्दोलनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसबेला मेरो घर जलाइयो, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो र वीपी कोइरालाको पुख्र्यौली घरसमेत जलाइयो । तर अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र काँग्रेसका नेताहरूलाई मात्र छानीछानी निशाना बनाइएको देखियो । त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन । म विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको व्यक्ति हुँ । पटक–पटक जेल जीवन बिताएको छु । वीपी कोईरालाले प्रजातन्त्रका लागि गरेको संघर्ष र जेल जीवनको इतिहास हामीले बिर्सनु हुँदैन । पार्टीका लागि संघर्ष गरेका, पसिना बगाएका र त्याग गरेका नेता तथा कार्यकर्ताहरूको योगदानको सम्मान हुनुपर्छ । म स्वयं पनि साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको व्यक्ति हुँ । मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण म पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाएको हुँ । यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, जनताको विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको त्यागको परिणाम हो ।’
आफू जनताको सहयोग र समर्थनबाट पाँचपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको इतिहास बिर्सन नहुने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्