काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले काँग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै एनजीओ र आईएनजीओसँगको सम्बन्धबारे सार्वजनिक टिप्पणी गर्नुभएको छ ।
शनिवार शेरबहादुर देउवा पक्षीय काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको हो । शर्माले आफू मन्त्रीसमेत नभएको बताउनुभएको प्रसंग उल्लेख गर्दै बस्नेतले शर्माको एनजिओसँगको आवद्धताबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउनुभयो । बस्नेतले काँग्रेस सभापति गगन थापा स्वास्थ्यमन्त्री हुँदा भएका भनिएका आर्थिक अनियमितता र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएका विषयसमेत उठान गर्नुभयो । उहाँले पार्टीभित्र आर्थिक चलखेल र विचौलियाको प्रभाव बढेको आरोप लगाउँदै व्यवसायीको आडमा काँग्रेस कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मिडियामा १८ करोड, ३६ करोड हुँदै ५०–५१ करोडसम्मका आर्थिक लेनदेनका कुरा सार्वजनिक भएपछि सम्बन्धित व्यक्तिले स्पष्टीकरण दिन दौडधुप गरेको देखियो । उहाँले मधेस प्रदेशको सरकार बचाउन गएको दाबी गर्नुभएको छ । तर पटक–पटक सरकार परिवर्तन हुँदा चासो नदेखाउने व्यक्तिले मधेस सरकार बचाउनकै लागि गएको भन्ने तर्क कति विश्वसनीय छ रु गगन थापा र विश्वप्रकाश शर्माका अभिव्यक्तिमाथि पनि गम्भीर प्रश्न उठेका छन् । विश्वप्रकाशजीले आफू मन्त्रीसमेत नभएको बताउनुभएको रहेछ । तर उहाँको राजनीतिक पृष्ठभूमि, विभिन्न संस्थासँगको सम्बन्ध र पार्टीभित्रको भुमिकाबारे पनि प्रश्न उठाउन आवश्यक छ । गगन थापाको स्वास्थ्य मन्त्री हुँदाको कार्यकाल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियाबारे उठेका आरोपहरूको पनि निष्पक्ष छानबिन हुनुपर्छ । पार्टीभित्र आर्थिक चलखेल, विचौलियाको प्रभाव र सिमित व्यक्तिको नियन्त्रण बढ्दै गएको भन्ने कार्यकर्ताहरूको गुनासोलाई बेवास्ता गर्न मिल्दैन । व्यावसायिक क्षेत्रमा लाग्नु र देशको आर्थिक विकासमा योगदान दिनु स्वागतयोग्य कुरा हो । तर व्यवसायको आडमा पार्टीका निर्णय प्रक्रिया र संस्थागत संरचनामाथि प्रभाव जमाउने प्रवृत्ति स्वीकार्य हुन सक्दैन । हाम्रो स्पष्ट भनाइ छ–पार्टी कुनै व्यक्तिको निजी सम्पती होइन । पार्टीलाई विचौलिया र आर्थिक स्वार्थबाट मुक्त राख्दै इमानदार कार्यकर्ताको सम्मान, आन्तरिक लोकतन्त्र र पारदर्शिताको रक्षा गर्नुपर्छ । उठेका सबै आरोपको निष्पक्ष छानबिन होस् र दोषी देखिए कानूनअनुसार कारबाही होस् ।’
उहाँले विनोद चौधरी र उमेश श्रेष्ठलगायत व्यवसायीलाई पेशा व्यवसाय गर्न स्वागत गर्दै त्यसकै नाममा पार्टी, अदालत र निर्वाचन आयोग कब्जा गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्