Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत


0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गर्नुभएको छ ।

शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको अवधारणाअनुसार तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन भएको र नेपाललाई लोडसेडिङमुक्त बनाइएको दाबी गर्नुभयो ।

उक्त कामको जस तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाउनुपर्ने भएपनि यसको मुख्य अवधारणा ओली नेतृत्वको सरकारको रहेको उहाँको भनाइ छ । नौ महिनाको अवधिमा एमालेले कुनै काम नगरेको भन्ने आरोपको जवाफ पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले दिनुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बस्नेतले एमालेले ३५ वर्ष शासन गरेको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै २०५२ देखि २०७९ सम्मको अवधिलाई नेपालको विकासको स्वर्णिम कालका रूपमा व्याख्या गर्नुभयो । मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि एमालेले काम गर्ने अवसर पाएका विभिन्न कार्यकालमा विकासका महत्वपूर्ण काम भएको उहाँको दाबी छ । उहाँले वर्तमान सरकारको नौ महिनाको कार्यकाललाई कुशासन, भ्रष्टाचार, अनियमितता र महँगी वृद्धिसँग जोड्दै आलोचना गर्नुभयो ।

ग्यासको मूल्य वृद्धि, युवालाई दिइएका आश्वासन र सरकारका गतिविधिले जनतामा निराशा तथा आक्रोश बढाएको उहाँको आरोप छ । बस्नेतले वर्तमान सरकारको कार्यशैली अधिनायकवाद, निरंकुशता र प्रतिशोधतर्फ उन्मुख रहेको टिप्पणीसमेत गर्नुभयो ।

उहाँकाअनुसार एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईवटा रणनीति बनाएको छ । पहिलो, विगतमा पार्टीले गरेका विकास निर्माणका काम र आफ्ना एजेन्डासहित जनतामाझ जाने तथा दुवै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने र दोस्रो, वर्तमान सरकारका जनहितविरोधी गतिविधिविरुद्ध अन्य विचार मिल्ने दलसँग निर्वाचनमा कार्यगत एकता र आन्दोलनमा संयुक्त संघर्ष गर्ने रणनीति रहेको बताउनु भयो । पार्टीको आगामी रणनीतिलाई प्रभावकारी बनाउन आधारभूत तहका कमिटीलाई व्यवस्थित गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सचिव बस्नेतले भन्नुभयो, ‘केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकालमा ऊर्जा उत्पादन र लोडसेडिङ अन्त्यको दिशामा महत्वपूर्ण काम भएको थियो । त्यसको श्रेय कुलमान घिसिङलगायत सम्बन्धित सबैलाई जान्छ, तर यसमा तत्कालीन सरकारको नीतिगत नेतृत्व र अवधारणालाई पनि बिर्सनु हुँदैन । हामीले ३५ वर्ष शासन गरेका होइनौँ । २०५२ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकार गठन भएदेखि २०७९ सम्मको अवधिमा नेकपा एमालेले विकास र समृद्धिका क्षेत्रमा गरेका काम जनतासमक्ष तथ्यसहित प्रस्तुत गर्न आवश्यक छ । आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै विगतका काम, उपलब्धि र वर्तमान सरकारका नीतिहरूबारे तथ्यमा आधारित बहस जनतामाझ लैजानुपर्छ । साथै, अन्य विचार मिल्ने दलहरूसँग सहकार्य र लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिक गतिविधि अघि बढाउने रणनीति आवश्यक छ । यसका लागि पार्टी संगठनलाई आधारभूत तहदेखि व्यवस्थित र सुदृढ बनाउनुपर्छ । यही उद्देश्यले कात्तिक २६ गते वडा अधिवेशन र मङ्सिर ४ गते पालिका अधिवेशन आयोजना हुँदैछन् । सबै अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गरौँ । सहमति हुन नसके लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ। नेताहरूबीच गुटबन्दी र व्यक्तिगत टिम निर्माण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै एकता, सहमति र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिऔँ । पालिका इन्चार्ज कमरेडहरूले अधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ। पार्टीको संगठनात्मक एकता र सुदृढीकरण नै आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधार हुनेछ ।’

बस्नेतले कात्तिक २६ गते वडा तहका अधिवेशन र मंसिर ४ गते पालिका तहका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो । अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गर्नुपर्ने भन्दै उनले त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

अधिवेशनका क्रममा नेताहरूले छुट्टाछुट्टै समूह बनाएर गुटगत प्रतिस्पर्धाको सन्देश दिन नहुने उहाँको भनाइ छ । पालिका तहका अधिवेशन व्यवस्थित गर्न सम्बन्धित इन्चार्जहरूको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

Skip This