काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि लिग चरणका दुई खेल खेलाइँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिनेछन् ।
दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकामा दोस्रो स्थानमा रहेको काठमाडौं जितको लयलाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिनेछ । पाँच खेल खेलेको काठमाडौंले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।
यता सुदूरपश्चिम पनि बलियो प्रतिस्पर्धीका रूपमा मैदानमा हुनेछ । टोली हाल अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले चार खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ ।
यसैगरी आजको दोस्रो खेलमा दिउँसो साढे ४ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको चितवनले पाँच खेलबाट दुई जित र दुई हारको नतिजा निकालेको छ । वर्षाका कारण एक खेल पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
यता जनकपुर बोल्ट्स भने छैटौँ स्थानमा छ । प्रतियोगितामा ६ खेल खेलेको जनकपुरले दुई खेलमा जित निकाल्दा चार खेलमा हार बेहोरेको छ । आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने दुवै टोलीको लक्ष्य हुनेछ ।









प्रतिक्रिया दिनुहोस्