काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीयस्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली कांग्रेसको केन्द्रिय योजनामा समेट्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका कार्यक्रम र योजनाहरू जनताको वास्तविक आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
यसैबीच, महामन्त्री पौडेलले पार्टी सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न सक्ने भन्दै विधिको शासन र कानुनी प्रक्रियामाथि प्रश्न उठाउनुभयो । सरकारले कानुन र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।
सभापति थापाबारे एक बिचौलियाले दिएको भनिएको बयानमाथि पनि प्रश्न उठाउँदै पौडेलले सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा लैजान यति ढिलाइ नगर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जहाँसम्म पार्टी सभापतिको पक्राउको विषय छ, हामी विधिको शासन र कानूनी प्रक्रियाको सम्मान गर्छौँ । तर कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन । कुनैपनि आरोपको निष्पक्ष छानबिन र कानूनी प्रक्रियाबाट निरूपण हुनुपर्छ ।’
दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरीत हुने उहाँले बताउनुभयो । बहुमतका नाममा सरकारविरुद्ध बोल्नेहरूलाई डर र त्रास सिर्जना गर्ने प्रयास भइरहेको उहाँको आरोप थियो ।
‘दुई तिहाइको बहुमत पाउँदैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरित छ । सरकारका गलत काम, अन्याय र विधिको उल्लंघनविरुद्ध बोल्नु प्रतिपक्षको जिम्मेवारी हो,’ उहाँले भन्नुभयो ।
कांग्रेस यस्ता गतिविधिबाट नडराउने उल्लेख गर्दै उहाँले पक्राउ र दबाबका बाबजुद सरकारका गलत काम तथा विधि उल्लंघनविरुद्ध आवाज उठाउन नछाड्ने बताउनुभयो ।
‘पक्राउ र दबाबले नेपाली कााँग्रेसको आवाज रोकिँदैन । हामी कानुनी शासन, लोकतान्त्रिक मूल्य र जनताको अधिकारका पक्षमा निरन्तर बोलिरहनेछौँ,’ पौडेलले भन्नुभयो ।









प्रतिक्रिया दिनुहोस्